दुताबास, पत्रकार महासंघ र बीएनएसीको सहकार्यमा प्राज्ञिक अन्तरक्रिया

17240504_1563429880351810_6639960625580160588_o

photo/ Milan Tamu

लन्डन । ब्रिटेनको सत्तारुढ दल कन्जरभेटिभका एकजना प्रभावशाली सांसद तथा भूतपूर्व मन्त्री सर जेराल्ड होवार्थले ब्रिटिश प्रधानमन्त्री टेरेजा मेको नेपाल भ्रमणकालागि आफूले पहल 
गर्ने वचन दिएका छन् । नेपाल ब्रिटेन सम्बन्धको २०० वर्ष पुरा भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि होवार्थले उक्त आश्वासन दिंदै नेपाल ब्रिटेनको एक भरपर्दो मित्र रहेको बताए । बेलायत नेपाल सम्वन्धको २०० वर्ष गांठ समापन भइरहंदा कुनै पनि ब्रिटिश प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । भूतपूर्व गोर्खाहरुको बाक्लो बसोबास रहेको अल्डरसट क्षेत्रको प्रतिनिधित्व गर्ने होवार्थले भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारले नगरको विकासमा ठूलो योगदान पुरयाएको बताए । स्कूल, कलेजमा पढ्ने भूतपूर्व गोर्खाका छोराछोरीहरुले राम्रो गरिरहेको र त्यसबाट अरु ब्रिटिश बालबालिकालाई पनि उत्प्रेरणा मिलेको उनले बताए । सर होवार्थले सन् १९६० यता ब्रिटिश सरकारले नेपाललाई झण्डै दुई अर्ब डलर बराबर सहायता दिएको स्मरण गर्दै नेपालको विकासमा सघाउन पाएकोमा खुसी व्यक्त गरे । गत बीस वर्षदेखि सांसद रहेका होवार्थ अन्तर्राष्ट्रिय सुरक्षा रणनीति 
हेर्ने भूतपूर्व मन्त्री पनि हुन् । ब्रिटेनले युरोपेली संघ छाडनु पर्छ भन्ने पक्षमा मतदान गरेका होवार्थले ब्रेक्जिटपछि ब्रिटेनले नेपालजस्ता मित्रहरुसंग अरु निकट सम्बन्ध कायम राख्ने पनि बताए । उनले प्रधानमन्त्री मे ले राम्रो काम गरेको भन्दै उनको प्रशंसा समेत गरे । कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले सुगौली सन्धि अघि पनि नेपालको ब्रिटेनसंग सम्बन्ध रहेको स्मरण गरे । नेपालमा प्रजातन्त्रको सुदृढीकरणकालागि ब्रिटेनले दरिलो सहयोग र समर्थन दिंदै आएको बताउंदै सुवेदीले नेपालीहरुको मनमा पनि बेलायतप्रति न्यानो सद्भाव रहेको बताए ।

कार्यक्रममा बोल्दै लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपाल भारत सम्बन्धबारे जान्न चाहने जो कोहीले पहिले नेपाल ब्रिटेन सम्बन्धको अध्ययन गर्नुपर्ने बताए । सुगौली सन्धि विजेता ब्रिटिस इन्डियाले नेपालमाथि थोपरेको भएपनि दुई देशबीच सन् १९२३ मा सम्पन्न सन्धिले नेपाललाई एक स्वतन्त्र र सार्वभौम सम्पन्न मुलुकको रुपमा स्थापित गरेको बताए । सन् १९९० पछि पढ्न र काम गर्न बेलायत आउने नेपालीहरुको संख्या बढेको र यसले गर्दा दुई देशबीचको सम्बन्ध विकेन्द्रिकृत बन्न पुगेको उनको निचोड थियो । लन्डन विश्वकै वित्तीय केन्द्र भएकाले प्रा. सुवेदीले नेपालमा लगानी भित्र्याउन ठूला ब्रिटिश कम्पनीहरुसम्म पहुंच पुरयाउन नेपाल सरकारले थप पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा डा. कृष्ण अधिकारीले लन्डनमा बसोबास गर्ने पहिलो नेपाली मोतिलाल सिंहबारे, डा. मारा मालागोडीले नेपालको 
संवैधानिक विकासबारे तथा सेवानिवृत्त कर्णेल जेरी बर्चले ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहासबारे बोलेका थिए । अन्तरक्रिया सञ्चालन अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डेविड गेलनरले गरेका थिए । सोही अवसरमा ब्रिटिश चित्रकार स्टेफेन किङले नेपालको लाङटाङ क्षेत्रमा गएर खिचेका तस्वीरहरुको प्रदर्शनी गरेका थिए भने अस्मिता श्रीसको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । नेपाल पत्रकार महासंघ बेलायत र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले संयोजन गरेको उक्त कार्यक्रमको पहिलो चरण उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेका थिए ।