पत्रकार महासंघ बेलायतले मनायो दशौँ वार्षिकोत्सव

लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस एक विशेष समारोहबीच आइतबार लन्डनमा मनाइएको छ।

बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थितिमा शाखाले संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका विमोचन लगायतका विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो।

शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पत्रकार महासंघ बेलायतको सक्रियता उदाहरणीय रहेको उल्लेख गर्दै नेपाली पत्रकारहरुलाई थप व्यवसायिक बन्न सुझाव दिए। उनले पत्रकारिता समाजको ऐनामात्र नभएर यसले समाज रुपान्तरणमा पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले पत्रकारिता मर्यादित हुन आवश्यक रहेकोमा जोड दिए।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शाखाको स्थापनाको दशौँ वर्षगांठका अवसरमा बधाई दिंदै प्रवासका पत्रकारहरुले सूचना सम्प्रेसण मात्र नगरेर स्वदेशका लागि ज्ञान, सीप समेत हस्तान्तरण  गरिरहेको बताए। ढकालले गैरआवासीय नेपालीलाई डलर खाता खोल्न भएको सुविधाबारे अवगत गराउंदै यसले व्यक्तिगत लाभमात्र नभएर देशको समृद्धि पनि हुने जनाए।  

नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले पत्रकार महासंघ बेलायतसँग दूतावासले निकट सहकार्य गर्दै आएको  उल्लेख गर्दै पत्रकारहरुलाई दूतावासबाट हुने सहयोग सधैं रहने जनाइन् 

एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले पत्रकार महासंघ बेलायतसँग मिलेर अन्तरराष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको स्मरण गर्दै यस्ता सहकार्यहरुको निरन्तरता हुने जनाए। एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलले शाखालाई दशौँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिए।  

शाखाका अध्यक्ष ध्रुवराज अर्यालले संस्था स्थापनादेखि आजको दिनसम्म ल्याइपुर्‍याउन योगदान गर्ने संस्थापक तथा अग्रजप्रति सम्मान व्यक्त गर्दै शाखालाई अभिभावकको रुपमा सहयोग, संरक्षण गर्दै आएको बेलायतको सिंगो नेपाली समुदायप्रति आभार प्रकट गरे। उनले बेलायतमा रहेका नेपाली पत्रकारहरुको साथै यहाँबाट सञ्चालित नेपाली मिडिया समेतको स्तरोन्नतिका लागि शाखाले प्रयास गर्दै आएको सुनाए।

कार्यक्रममा अग्रज पत्रकारहरु खगेन्द्र नेपाली र सुमन खरेल, शाखाका पूर्व अध्यक्ष चिरन शर्मा, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर, फोनिज यूके अध्यक्ष गोमा राना, नेपाल प्रेस युनियन यूके उपाध्यक्ष एभरेष्ट गौतम, पत्रकार ददि सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए।उनीहरुले प्रवासमा नेपाली पत्रकारिता र पत्रकार महासंघका विभिन्न आयामहरुबारे चर्चा गरेका थिए।

समारोहमा विशेष वक्ताका रुपमा बीबीसी वर्ल्ड सर्भिसमा पर्यावरण रिपोर्टरका रुपमा कार्यरत पत्रकार नवीनसिंह  खड्काले आफ्नो अनुभव सुनाएका थिए। एफएनजे यूके पत्रकारिता पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेरालीले आफूहरुमाथि विश्वास राखेर पुरस्कार छनोटको जिम्मा दिएकोमा शाखालाई धन्यवाद दिंदै प्राप्त आवेदनहरुलाई निश्चित मापदन्डको आधारमा मुल्यांकन गरी  सिफारिश गरिएको जानकारी गराए।  

समरोहमा दशौँ वार्षिकोत्सवका अवसरमा प्रकाशित शाखाको  ‘दशौँ वर्ष विशेष स्मारिका’ विमोचन गरिएको थियो।

समारोहमा यस वर्षको ’एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ पत्रकारद्वय नवीन पोखरेल र खेमराज रानाभाटलाई प्रदान गरियो।प्रमुख अतिथि राजदूत आचार्य, समाजसेवी रविजंग लामिछाने र पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेरालीले ५ सय दुई पाउन्ड नगद र सम्मानपत्रसहितको पुरस्कार वितरण गरेका थिए। 

सोही अवसरमा शाखाका संस्थापक कार्यसमितिका पदाधिकारीहरु, वर्तमान कार्यसमितिद्वारा मनोनित संरक्षक तथा सल्लाहकारलगायतलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा एफएनजे यूके पत्रकारिताका पुरस्कार छनोट समितिका संयोजक प्रा डा तेजेन्द्र फेराली तथा सदस्यहरु डा ओम गौतम, संगीता मरहट्ठा र डा  सुमाया राईका साथै    कार्यक्रमलाई विभिन्न ढंगले सहयोग पुर्‍याउने रविजंग लामिछाने, कृष्ण तिमल्सेना, सरस्वती केसी, विकास नेपाल, मीन दर्लामी, सुर्य गुरुङ, रमेश जैसवाल, डिजे हेम विष्ट र कार्यसमितिका पदाधिकारीलाई मायाको चिनो वितरण गरिएको थियो।

शाखाको दशौँ वार्षिकोत्सवको अवसरमा केक काटेर खुशीयाली मनाइएको थियो।  

कार्यक्रमका संयोजक शाखाका महासचिव नरेन्द्र बस्नेत र सहसंयोजक शाखा उपाध्यक्ष प्रमिला लावुङ राईले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियारले स्वागत मन्तव्य र उपाध्यक्ष शिव भन्डारीले धन्यवाद मन्तव्य राखेका थिए। त्यस्तै सचिव खेमराज रानाभाटले हेल्थ एन्ड सेफ्टी ब्रिफ र सचिव मञ्जु भन्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना सन्देशवाचन गरेकी थिइन्। 

कार्यक्रममा लन्डन, अल्डरसट, साउथ इष्टदेखि रेडिङ, स्वीन्डन र मिडल्याण्डका लेष्टर, बर्मिङहम लगायतबाट नेपाली संघसंस्था र समुदायका प्रतिनिधि सहभागी थिए।

तस्विर: मिलन तमु