पत्रकार महासंघ बेलायतद्धारा राजदूतलाई स्वागत, सहकार्य सुदृढ बनाउने प्रतिवद्धता

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसंग अन्तरक्रिया समेत गरेको छ । 

शाखाका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल र पूर्व अध्यक्ष चिरन शर्माले खादा र पुष्पुच्छासहित राजदूत आचार्यलाई संस्थाका तर्फबाट स्वागत गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत आचार्यले पत्रकार महासंघ बेलायतसंगको सहकार्यलाई दूतावासले उच्च महत्वसहित अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । पत्रकारहरुसंग सहयोग आदाप्रदान गर्न दूतावास सधैं तयार रहने जनाउँदै उनले त्यसका लागि निरन्तर छलफल र समन्वय गर्दै जाने बताए ।

आफ्नो कार्यकालमा नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा पु्रयाउने दिशामा पहल गर्ने राजदूत आचार्यको प्रतिवद्धता छ । भूपू गोर्खाहरुको मुद्धालाई आफ्नो मूल प्राथमिकतामा राखेको भन्दै उनले यो समस्याको स्थायी समाधान खोजिने बताए । 

दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालले बेलायतस्थित नेपाली पत्रकारहरु र पत्रकार महासंघबाट दूतावासलाई निरन्तर सहयोग मिल्दै आएको उल्लेख गर्दै प्रशंसा गरिन् । 

नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावास र शाखाबीच रहँदै आएको सहकार्य राजदूत आचार्यको कार्यकालमा थप सुदृढ बन्ने आशा व्यक्त गरे । बेलायतस्थित नेपाली पत्रकार र मिडियाको स्तर उन्नति गर्ने महासंघको पहलमा पनि दूतावासको सहयोगी भूमिका अपेक्षा गरेको उनले बताए । 

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बेलायतमा नयाँ राजदूतको रुपमा एक अनुभवी कुटनितिज्ञको आगमन भएसंगै यहाँका नेपालीहरुमा धेरै आशा र अपेक्षाहरु पलाएको बताए । बीबीसी नेपाली सेवाका पूर्व प्रमुख समेत रहेका उनले बेलायतमा नेपाली पत्रकारिताको पृष्ठभूमि र सुरुआती दिनहरुबारे पनि सुनाएका थिए ।

शाखाका पूर्व अध्यक्ष चिरन शर्माले बेलायतस्थित पत्रकारहरु दूतावसको सहयोगका लागि सधै तयार रहेको भन्दै पत्रकारहरुलाई आवश्यक सूचनालाई थप सहज बनाइदिन दूतावासलाई आग्रह गरे ।

कार्यक्रमका दोस्रो चरणमा पत्रकारहरुले राखेका जिज्ञासामा राजदूत आचार्यले जवाफ दिएका थिए । 

त्यस अवसरमा दूतावासका सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार, सेकेण्ड सेक्रेटरी रामबाबु नेपाल, सहचारीद्धय पुजन पाण्डे र गजेन्द्र राई, नेपाल पत्रकार महासंघ बेलायत शाखाकी केन्द्रीय प्रतिनिधि विमला सेने, सल्लाहकार फडिन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कार्यसमिति सदस्यहरु गोमा राना र बाचस्पति रेग्मीसहित करुण अर्याल, एभरेष्ट गौतम, फातिमा बानु, प्रकाश कंडेललगायतका पत्रकार एवम् सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव नरेन्द्र बस्नेतले गरेका थिए । 

सोहि अवसरमा बेलायत भ्रमणमा आएका पत्रकार गिरिजा अधिकारीलाई पनि शाखाका तर्फबाट स्वागत गरिएको थियो । 

तस्विर: शिव भण्डारी