एफएनजे यूके उपाध्यक्ष लावुङलाई पितृशोक, शाखाले जनायो दु:ख

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाकी उपाध्यक्ष प्रमिला लावुङ राईलाई पितृशोक परेको छ ।

फोनिज यूकेकी अध्यक्ष समेत रहेकी शाखाकी उपाध्यक्ष लावुङका पिता बलबहादुर लिम्बू (लावुङ) को ८० वर्षको उमेरमा बुधबार नेपालमा निधन भएको हो ।

पछिल्लो केही समयदेखि अस्वस्थ रहेका स्वर्गीय लावुङको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय लावुङको जन्म ईलाम जिल्लाको समालबुङ, सुर्योदय नगरपालिकामा भएको थियो । उनका श्रीमती, तीन छोरा र पाँच छोरी छन् ।

यसैबीच, स्वर्गीय लावुङको निधनप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखाले दु:ख व्यक्त गरेको छ ।

महासचिव नरेन्द्र बस्नेतले विहीबार एक शोक वक्तव्य जारी गर्दै लावुङको निधनमा शाखाका तर्फबाट दु:ख जनाएका हुन् ।

शोक वक्तव्यमा शाखाद्वारा स्वर्गीय लावुङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा भावपूर्ण समवेदना पनि प्रकट गरिएको छ ।