नेपाल पत्रकार महासंघ युकेको पाँचौ अधिवेशन १३ जुनमा

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौ अधिवेशन भर्चुअलरुपमा १३ जुनमा हुने भएको छ ।

शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको भर्चुअल बैठकले पाँचौ अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेसनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि गठन गरेको छ । रमेश साराङकोटीको संयोजकत्वमा गठित निर्वाचन समितिमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य रहेका छन् भने सोलिसिटर दीपक भट्टराई निर्वाचन समितिको कानुनी सल्लाहकार चयन भएका छन् ।

बैठकले शाखाको नयाँ सदस्यमा ४३ जनाको नाम सर्वसम्मतले टु‌ङ्गो लगाएको छ भने सदस्यता नविकरणका लागि शुल्क ३० पाउण्ड तोक्ने र सो शुल्क मे २३ तारिखसम्ममा आइपुग्नु पर्ने निर्णय गरिएको छ । यसअघि बैठकमा शाखाले गठन गरेको सदस्यता शुद्धिकरण समितिका संयोजक सल्लाहकार भगिरथ योगीले समितिको प्रतिवेदन पेश गरेका थिए भने बैठकले समितिलाई कार्य सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो ।

अधिवेसन आयोजनाका लागि उपाध्यक्ष विमला सेनेलाई व्यवस्थापन समितिको संयोजक तोकिएको छ भने सांगठानिक प्रतिवेदन तयारीका लागि महासचिव सन्जयभक्त कँडेल र आर्थिक प्रतिवेदन तयारीमा अध्यक्ष खपाङ्गीमगरलाई जिम्मा दिइएको छ ।

त्यस्तै, कार्यसमितिको संख्यालाई परिमार्जन गर्दै बैठकले १५ मा घटाएको छ । जसमा अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१, उपाध्यक्ष-२ (एक समावेशी), महासचिव-१, सचिव-२, कोषाध्यक्ष-१, सहकोषाध्यक्ष-१ र सदस्यहरु ६ जना रहनेछन् ।

बैठकले शाखाले स्थापना गरेको ‘नेपाल पत्रकार महासंघ वर्ष पत्रकारिता पुरस्कार’ को नियमावली पारित गरेको छ । नियमावली निर्माण समितिका संयोजक डा. जगन कार्कीले तयार पार्नुभएको सो नियमावली छलफलपश्चात पारित गरिएको थियो भने सन् २०२०का लागि सो पत्रकारिता पुरस्कार दिनका लागि छनौट समिति गठन गरिएको छ । डा. कृष्ण अधिकारीको संयोजकत्वमा गठित समितिमा डा. प्रियंवदा पौड्याल, शाखाका अध्यक्ष खपाङ्गी मगर र सचिव डा. जगन कार्की सदस्य रहेका छन् ।
शाखाले हरेक अधिवेशनमा अग्रज पत्रकारहरुलाई सम्मान गर्ने गरेकोमा यसपटक अग्रज पत्रकारहरु सुमन खरेल, चिरन्जीवी पौड्याल, सुरेशजंग शाह, विजय थापा र भगीरथ योगीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

महासचिव सन्जयभक्त कँडेलले सन्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले स्वागत गरेका थिए । बैठकमा शाखाका २२ सदस्यहरुमध्ये २० जना सदस्यहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।