नेपाल पत्रकार महासंघ युके शाखाको सांगठानिक प्रतिवेदन

नेपाल पत्रकार महासंघ, यूके शाखाको साधारण सभा २०२० मा महासचिव सञ्जयभक्त कँडेलद्वारा प्रस्तुत शाखाको कार्यप्रगति तथा सांगठनिक प्रतिवेदन

आदरणीय सभा अध्यक्ष , आजका कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु, शाखाका पूर्व अध्यक्षहरु,  नेपाल प्रेस युनियन, यूके, नेपाल प्रेस संगठन यूके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेका अध्यक्ष तथा प्रतिनिधिहरु तथा यस शाखाका आदरणीय सल्लाहकारहरु, केन्द्रीय सभासदहरु, कार्यसमितिका सहकर्मी पदाधिकारी तथा सदस्यहरु तथा शाखाका सबै सदस्यहरुमा न्यानो अभिवादन । साथै यस साभारण सभालाई लाईभ हेरेर बस्ने यहाँहरु सम्पूर्णमा विशेष अभिवादन ।

छ दशक लामो गौरवमय इतिहास बोकेको नेपाल पत्रकार महासंघको बेलायत शाखाको यो गौरवमय साधारण सभामा महासचिवको हैसियतले कार्यप्रगति तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साह र सौभाग्य मिलेको महसुस भइरहेको छ । नेपाल पत्रकार महासंघको विधानमा ब्यवस्था भएअनुसार प्रवासमा शाखा विस्तार गर्ने क्रममा सन् २०११ मा स्थापना भएको नेपाल पत्रकार महासंघ बेलायत शाखाको यो साधारण सभामा विश्वभर फैलिएको कोरोना महामारीको त्रास साथै अन्य ब्यवहारिक कठिनाइका बाबजुद उपस्थित सबैलाई सर्वप्रथम हार्दिक स्वागत गर्न चाहन्छु ।

महासंघको प्रवासमा रहेका करिब दश वटा शाखामध्ये बेलायत शाखा अलिक बढी क्रियाशील, चलायमान साथै सदस्य संख्याका हिसाबले पनि ठूलो शाखा रहेको यहाँहरु सबैलाई विदितै छ । बेलायतमा कार्यरत नेपालीमूलका पत्रकारहरु नेपाल पत्रकार महासंघको संगठनात्मक संरचनामार्फत संगठित हुने अभिप्रायले नेपाल पत्रकार महासंघ यूके गठनको भएको थियो ।

प्रवासमा नेपाली समुदायले गर्ने सामाजिक गतिविधिलाई संसारभर पुर्याउने उद्देश्यले गठन भएको महासंघ यूके शाखाले करिब १० वर्ष पूरा गरेको छ र यसबीचमा चारवटा अधिशेवन सम्पन्न भैसकेको छ । यसबीचमा हामीले बेलायतमा क्रियाशिल नेपाली पत्रकार साथीहरुलाई एकतावद्ध गर्दै प्रेस स्वतन्त्रताको रक्षा, व्यावसायिक तथा पेशागत र भौतिक सुरक्षा, क्षमता विकासका सवालमा क्रियाशील रहँदै साथै नेपाली समुदायका मुद्दाका विषयमा पटक पटक बहस गर्दै आइरहेका छौं । जसका कारण नेपाल पत्रकार महासंघ बेलायत शाखाप्रति यहाँ बसोबास गर्ने नेपाली समुदाय, नागरिक समाज, सामाजिक संघ संस्था तथा ब्रिटिस समुदायमाझ एक किसिमको सम्बन्ध स्थापित भइसकेको छ । साथसाथै शाखाप्रति नेपाली समुदायको आशा र भरोसा पनि रहेको पाइन्छ । जसका कारण हामीमा अझ बढी जिम्मेवारी महसुस भइरहेको छ ।

युके शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल हुँदै पूर्व अध्यक्ष चिरन शर्मा हुँदै चौथो कार्यकालसम्म आईपुग्दा नेपाल पत्रकार महासंघ युके शाखा बेलायतमा रहेका नेपाली मूलका पत्रकारहरुलाई संगठित गर्न सफल हुँदै गरेको अनुभव हामीले गरेका छौं । बेलायतमा रहेका नेपाली पत्रकारहरुको पेशागत क्षमताको विकास र उनीहरुको हक अधिकार रक्षाका लागि नेपाल पत्रकार महासंघ युके शाखा मुख्यरुपमा क्रियाशील छ । त्यस्तै, महासंघको बेलायत शाखामार्फत बेलायतमा कार्यरत नेपाली पत्रकारहरु बेलायतस्थित नेपाली समुदायसँग घुलमिल हुँदै नजिकबाट काम गरिरहेका छौँ ।

अहिले बेलायतमा मूलत अनलाइन मिडियाहरु सन्चालित छन् । विगतमा नेपाली सन्देश, युरोपको नेपाली पत्र, एभरेष्ट टाइम्स जस्ता साप्ताहिक पत्रिका प्रकाशनमा रहेपनि अहिले भने उनीहरु अनलाइन भर्सनमा मात्र सक्रिय छन् । पहिले बीबीसी नेपाली सेवाको मुख्यालय लण्डनमा थियो तर अहिले सो कार्यालय नेपाल सरिसकेको छ भने बेलायती रक्षा मन्त्रालयले आफ्ना सेवामा रहेका गोरखा सैनिक र उनीहरुका परिवारहरुलाई लक्षीत गरी खोलेको बीएफबीएस गोरखा रेडियो भने अहिले पनि संचालनमा रहेको छ । विगतमा लण्डनबाट प्रसारण हुने नेपाली टिभी निकै लोकप्रिय थियो तर अहिले सोको प्रसारण नियमित रहेको पाइँदैन । यसबीचमा बेलायतमा धेरै अनलाइनहरु थपिएका छन् । जसमा वीनेपाली, दर्पण संसार, नेपाल सन्सार, लण्डन नेपाल न्यूज, नेपाल ब्रिटेन, नेपाली लिंक,ग्लोवल नेप्लिज, हिमालय मेल, साउथ एसिया टाइम्स, गोर्खा मिडिया, शीतलपाटीन्यूज, लण्डन काठमाण्डू न्यूज, नेपाली समाचार, केन्ट अनलाइन, गोर्खा रेडियो लगायतका अनलाइनहरु बेलायतको नेपाली समुदायमा सन्चालित छन् । यी मिडियाहरुले नेपाली समूदायका मुद्दाहरुलाई उठान गरी समाधानको बाटो पहिल्याउन महत्वपूर्ण कार्य गरिरहेको यहाँहरु विदितै हुनुहुन्छ ।
बेलायतमा संचालित नेपाली मूलका मिडियाहरुमा कार्यरत संचारकर्मी साथीहरुको हक र हितका लागि हामी सदैव क्रियाशील छौं र रहिरहने छौं । मिडियाहरुको संख्या बढेसँगै हामीले नयाँ सदस्यहरुको विस्तार पनि गर्दै लैजानुपर्ने हाम्रो मूल दायित्व छ । त्यतिमात्र होइन बेलायतमा संचालित नेपाली मिडियामा कार्यरत पत्रकार साथीहरुलाई पत्रकारिताको धर्म, मर्म र आचार संहितालाई पालन गर्न र गराउन अभिप्रेरित गर्नु पनि हाम्रो कार्यभार बनेको छ ।

नेपाल पत्रकार महासङ्घ यूकेको चौथो अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिले आफ्नो कार्यप्रगति, सांगठनिक गतिविधि, भावी कार्यक्रम सम्बन्धी प्रतिवेदन २०२० यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

नेपाल पत्रकार महासंघ युकेले गर्दै आएका कार्यहरुलाई मुख्यतया निम्न खण्डमा विभाजन गर्न सकिन्छ ।

क. पेशागत क्षमता विकास

नेपाल पत्रकार महासंघ युकेका आफना सदस्यहरुको क्षमता विकासका लागि नियमित रुपमा तालिम, सेमिनार, गोष्ठी, अन्तर्क्रियाको आयोजना गर्ने गरेको छ । यसबाहेक बेलायतका पत्रकारिता अध्ययन गराइने विश्वविद्यालयको भ्रमण, बेलायती संसदको भ्रमण गराइएको छ । यसैक्रममा बेलायतका कार्यरत नेपाली पत्रकारहरु अझ खोजी पत्रकारितातर्फ उन्मुख होउन् भन्ने उद्देश्यले शाखाले यसै वर्षदेखि एक हजार पाउण्ड राशीको पुरस्कार स्थापना गरेको छ ।

ख. समुदायसित अन्तक्रिया

प्रवासस्थित नेपाली समुदायलाई पत्रकारिताका विभिन्न पक्षका बारेमा जानकारी दिन अत्यन्तै आवश्यक छ । किनभने पत्रकारिता भन्नासाथ धेरैले नेपालको पत्रकारिता झ्वाट्ट सम्झन्छन् तर प्रवासको नेपाली पत्रकारिता त्यस्तो छैन । त्यसैगरी बेलायतको नेपाली पत्रकारिता बेलायतको मूलधारको पत्रकारिता जस्तो पनि छैन । त्यसैले प्रवासको नेपाली पत्रकारिता र नेपाली पत्रकारको अवस्था र समस्याका बारेमा समुदाय र पत्रकारहरुबीच छलफल हुनुपर्छ भनेर नेपाल पत्रकार महासंघले चरणवद्ध अन्तरक्रिया गर्दै आएको छ ।

ग. नेपालमा विपत्तिमा परेका पत्रकारहरुलाई सहयोग

नेपालमा गएका विनाशकारी भूकम्प होस् वा कोरोना महामारी होस् । यस्ता समस्याहरुबाट प्रभावित नेपाली पत्रकारहरुलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ युके सधै प्रतिवद्ध छ । महाभूकम्पमा परेका पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघले १३ लाख रुपियाँ नेपाल पत्रकार महासंघको केन्द्रीय अक्षयकोषमा जम्मा गरेको छ भने कोरोना महामारीबाट प्रभावित पत्रकारहरुका लागि २३ लाख रुपियाँ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको कोषमा पठाउँदैछ । यसबाहेक पनि धेरै नेपाली पत्रकारहरुको स्वास्थ्योपचार लगायतमा नेपाल पत्रकार महासंघ युकेले सहयोग गर्दैआएको छ ।

घ. पत्रकारको हकअधिकारका लागि क्रियाशील

बेलायतमा पत्रकारका रुपमा कार्यसम्पादन गर्दा नेपाली पत्रकारहरुलाई आइपरेका समस्याका बारेमा नेपाल पत्रकार महासंघ बेलायत शाखाले सरोकारवाला संघसंस्था वा निकायहरुको ध्यानाकर्षण गराउनुका साथै सार्वजनिक कार्यक्रममा पत्रकारहरुलाई सहज प्रवेश र सूचनाको पहुँचका लागि लबिङ गर्ने गरेको छ । पत्रकारहरुलाई धम्क्याउने, तर्साउने व्यक्ति वा संस्थालाई महासंघ संगठित रुपमा प्रतिवाद गर्ने गरेको छ भने आफ्ना सदस्यहरुलाई पत्रकारिता आचारसंहिताको पूर्ण पालना गराउन सचेत पनि गराउने गरेको छ ।

अ. महासंघले गरेका गतिविधिहरु

क. समुदायसंग अन्तरक्रिया

०६ अक्टोबर २०१८ को वैठकले वेलायत स्थित विभिन्न संघ संस्थासंग छलफल गर्न संस्थाकै वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याललाई जिम्मा दिएको थियो । जसअनुसार लण्डन , मिडल्याण्ड र केन्ट क्षेत्रमा बस्ने नेपाली समुदायसंग बेलायतको नेपाली पत्रकारिताबारे त्यस क्षेत्रका नेपाली समुदायसंग अन्तरक्रिया गरेको थियो । निकै अर्थपूर्ण रहेको सामुदायिक अन्तर क्रियामा सम्वन्धित क्षेत्रमा बसोबास गर्ने सामाजिक संघसंस्था, राजनैतिक दल, एनआरएनए लगायतका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । यस क्रममा मिडल्याण्डमा समुदायसित अन्तर्क्रिया गर्न सदस्यहरु महेश अधिकारी, नृपेश उप्रेती, केशव भण्डारी र टीका अधिकारीलाई स्थानीय संयोजनको जिम्मा दिएको छ भने केन्टमा अन्तर्क्रिया गर्न सदस्यहरु विश्वासदीप तिगेला, देवेन्द्र खेरेस, जानुका राई, ज्ञाम गुरुङ, सुरेन्द्र इङनाम, रमेश सराङकोटी र छत्र वनेमलाई जिम्मा दिइएको थियो  ।

ख. प्रवासमा पत्रकारिताको भूमिकाबारे अन्तरक्रिया

०६ अक्टोबर २०१८ को बैठकले नेपालबाट अग्रज पत्रकारहरु बोलाई प्रवासमा नेपाली पत्रकारिताको भूमिका बारे अन्तरक्रिया गर्न संस्थाकै वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई जिम्मा दिएको थियो । जस अनुसार नेपाल प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारी, संचार मन्त्रीका पूर्व सल्लाहकार तथा अनलाइनखबर डटकमका सम्पादक मातृका पौडेल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र यूकेमा रहनुभएकी अग्रज सन्चारकर्मी संगीत मरहट्ठाको सहभागितामा एक अन्तर सम्वाद कार्यकम गरेको थियो । सो कार्यक्रमको सन्चालन वरिष्ठ पत्रकार भगिरथ योगीले गर्नुभएको थियो । युकेका पत्रकार र मिडिया सञ्चालकहरु, एनआरएनए अभियन्ताहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत उपस्थिति रहेको सो कार्यक्रम निकै अर्थपूर्ण र प्रभावकारी रहेको थियो ।

ग. स्वास्थ्य सम्वाद

कोरोना भाइरस महामारीको दोस्रो लहरबाट बेलायतस्थित नेपाली समुदायलाई परेको प्रभावलाई लक्षीत गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम ‘स्वास्थ्य सम्वाद’ चलाइरहेको छ । नेप्लिज डक्टर्स एसोसिएसन युके, नेप्लिज नर्सेज एसोसिएसन युके र गैरआवासीय नेपाली संघ युकेको स्वास्थ्य समितिसंग मिलेर सो सम्वाद संचालन गरिँदै छ । सम्वादमा सर्वसाधारणले बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुसंग आफ्ना जिज्ञासा राख्ने अवसर पाउने छन् । सो सम्वाद सञ्चालनका लागि शाखाले वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालको संयोजकत्वमा एक समिति पनि बनाएको छ । समितिमा उपाध्यक्ष बिमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी र जगन कार्की रहेका छन् ।

घ. क्षमता अभिवृद्धि तालिम

पत्रकार महासंघ यूके शाखाले आफ्ना सदस्यहरुको वृत्ति विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको पनि तयारी थालेको छ । शाखाका सदस्यहरुको वृत्तिविकासका लागि भर्चुअल तालिम लगायतका कार्यक्रम गर्न शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई संयोजक तोकेको छ । सो समितिले डिसेम्बरक दोस्रो हप्तादेखि अनुभव आदानप्रदान कार्यक्रम शुरु गर्दैछ ।

दुवै वृत्ति विकास तथा स्वास्थ्य सम्वाद समितिको सल्लाहकारमा वरिष्ठ पत्रकार भगिरथ योगी रहेका छन् ।

ङ . महामारीमा जनचेतना कार्यक्रम

कोरोना महामारीको प्रथम चरणमै नेपाल पत्रकार महासंघ युकेले बेलायतमा बसोबासरत नेपाली आमाबुबा अर्थात अ‌ंग्रेजी भाषामा समस्या भएकाहरुका लागि लक्षित गर्दै कोरोना भाइरसबाट बच्ने उपायका बारेमा विभिन्न सूचनामूलक प्रस्तुति, लेख रचनाहरु, अन्तरवार्ताहरु नेपाली भाषामा विभिन्न चरणमा सम्प्रेषण गरेको थियो । अंग्रेजी नजान्ने वा नवुझ्ने प्रवासी नेपाली समुदायलाई बेलायतको स्वास्थ मन्त्रालयको स्वास्थ सम्बन्धी सूचना आवस्यक समूहलाई पुर्‍याउन नेपाल पत्रकार महासंघ यूकेले आफ्ना सदस्यहरु तथा बेलायतमा रहेका सबै मिडियाबाट प्रवाह गराएको थियो । यसका लागि सबै मिडिया संचालक तथा पत्रकार मित्रहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

च. ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना 

नेपाल पत्रकार महासंघ यूकेले बेलायतमा क्रियाशील नेपाली पत्रकारहरुको हौसला बढाउन र प्रोत्साहन गर्न शाखाले वर्षेनी १ हजार पाउण्ड राशीको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । सो पुरस्कारलाई  ब्यवस्थित र प्रभावकारी बनाउन यसको कार्यविधि बनाउन सचिव डा. जगन कार्कीलाई जिम्मा दिएको छ ।

छ. आपतकालिन कोषका लागि २३ लाख रुपैंयाँ सहयोग
कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपियाँ सहयोग गरेको छ । सहयोग गरिएको रकममध्ये २० लाख रुपियाँ अक्षय कोषमा राखिने छ भने ३ लाख रुपियाँ कोरोना प्रभावित श्रमजीवी पत्रकारहरुका लागि खर्च गरिने भएको छ । युके शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर संकलित रकमबाट सो सहयोग गरेको हो ।

ज. नेपाल पत्रकार महासंघको केन्द्रीय आपतकालिन कोष मस्यौदा समितिमा सञ्जयभक्त कँडेल
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले कोरोना भाइरसको महामारी विश्वभर फैलिन थालेपछि संचारकर्मीहरु पनि अछुतो नहुने भएकाले केही राहतका कार्यक्रमहरु अघि सारेको छ । त्यसका लागि स्थापना भएको आपत्कालिन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाले युके शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाएको छ ।

झ. सदस्यता शुद्धीकरण कार्यदल
शाखाको १ जुलाई २०१८ मा बसेको कार्य समितिको शाखाको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सल्लाहकार तथा वरिष्ठ पत्रकार भगिरथ योगीको संयोजकत्वमा शाखाका वरिष्ठ उपाध्यक्षद्वय श्याम लुईटेल र ध्रुवराज अर्याल, उपाध्यक्ष विमला सेने र महासचिव सञ्जयभक्त कँडेल सदस्य रहेको सदस्यता व्यवस्थापन तथा शुद्धीकरण कार्यदल गठन गरेको छ । सो समितिले शाखामा प्रतिवेदन पेश गरिसकेको छ र सो प्रतिवेदनमाथि यसै साधारणसभामा छलफल हुन गइरहेको छ ।

ञ. सल्लाहकार र केन्द्रीय सभासद चयन
नेपाल पत्रकार महासंघ यूके अग्रजहरुको सम्मान गर्दै उहाँहरुकै सल्लाह बमोजिम अघि बढ्न चाहन्छ । सोही सिलसिलामा भगिरथ योगी, नविन पोखरेल, चिरन शर्मा, संगीता मरहट्ठा, मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, हरिकुमार गुरुङ काजी, दुतबहादुर पुन, विकलचन्द्र आचार्य, विपिन निरौला, फडिन्द्र भट्टराई र कुशल श्रेष्ठलाई शाखाको सल्लाहकार नियुक्त गरेको छ । यसैगरी शाखाका तर्फबाट केन्द्रीय सभासदमा वाचस्पति रेग्मी, प्रमिला लाबुङ राई, भावना परिस्कृत सुनुवार, जानुका राई, मिलन तमु, एसके गुरुङ, प्रजय शुक्ल, मिलन शर्मा, एभरेष्ट गौतम र नृपेश उप्रेतीलाई चयन गरेको छ ।

ट. आइएफजे प्रेस कार्ड 

नेपाल पत्रकार महासंघ युके शाखाका सदस्यहरुलाई अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता कार्ड उपलब्ध गराउन प्रयासहरु भइरहेको छ । शाखाका सदस्यहरुलाई अन्तर्राष्ट्रिय पत्रकार महासंघको प्रेस पास उपलब्ध गराउनका लागि आवश्यक समन्वयका लागि महासचिव सञ्जयभक्त कँडेललाई जिम्मा दिएको छ ।

ठ. विधानका लागि सुझाव र स्थापना दिवसका सवालमा
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई नेपालमा हुने विधान सम्मेलनमा सुझाव पेश गर्न शाखाको अध्यक्ष नरेश खपाङ्गीलाई जिम्मा दिएको छ । शाखाले सबै वैदेशिक शाखासित मिलेर एक सुझाव केन्द्रमा पेश गरेको थियो । यस्तै शाखाको स्थापना दिवसका बारेमा खोजबिन गरी टुंगो लगाउन महासचिव सञ्जयभक्त कँडेलको संयोजकत्वमा सल्लाहकारद्वय नविन पोखरेल र चिरन शर्मा, कार्यसमिति उपाध्यक्ष विमला सेने  र सदस्य विश्वासदीप तिगेला हेको एक समिति बनाइएको छ ।

 

आ. महासंघको सामाजिक सम्वन्ध र सहकार्य

१. संघसंस्थासँगको सम्बन्ध 

नेपाल पत्रकार महासंघ युके विभिन्न संघ संस्थासंग समान र सम्मानजनक सम्बन्ध राख्दै प्रवासमा नेपाली भेषभूषा ,भाषा , संस्कृति र खेलकुदको प्रवर्द्धनका निमित्त सदैव अग्रसर रहेको र आवश्यक सहकार्य गर्न तयार रहेको सम्पूर्णमा जानकारी गराउन चाहन्छ ।

२. दुतावाससितको सम्बन्ध
नेपाल पत्रकार महासंघ यूके शाखा नेपाली दुतावास लण्डनसित सहकार्य गर्दै आवश्यक सूचना सम्प्रेषण गर्दै आएको छ । साथै दुतावासले आयोजना गरेको विभिन्न कार्यक्रममा औपचारिक उपस्थिति जनाउँदै आएको छ । नेपाली हस्तकलाका सामान, नेपाली गार्मेण्ट, नेपाली चिया, नेपाली चलचित्र प्रवर्द्धन, नेपाल भ्रमण वर्ष जस्ता नेपाली हितका आयोजना र अर्थपूर्ण कार्यक्रममा नेपाल प्रत्रकार महासंघ यूकेले यस कार्यकालमा सहभागिता जनायो भने आगामी दिनमा पनि नेपाललाई प्रबर्धन गर्ने दुताबासका यस्ता गतिविधिहरुमा हातेमालो गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।

३. एनआरएनएसंगको सम्बन्ध
गैर आवासीय नेपाली संघको जायज र आवश्यक कार्यमा नेपाल पत्रकार महासंघ यूकेले सदैव सहकार्य गर्दै आएको छ । गुट- उपगुट, जातियता, क्षेत्रीयता र राजनैतिक रंगबाट उठेर प्रवासमा रहेका नेपालीका मुद्दालाई नेपाल सरकारसंग छलफल गर्दै प्रवासी नेपाली समुदायमा देखिएका आम समस्याको सम्बोधन र हल गर्नेमा गैर आवासीय नेपाली संघले विशेष भूमिका निर्वाह गर्ने हामीले विश्वास लिएका छौं । गैर आवासीय नेपाली संघका सूचनालाई विश्वसनीय र प्रभावकारी बनाउन स्वतन्त्र पत्रकार आयोग बनाउन यसै साधारण सभामार्फत गैर आवासीय नेपाली संघलाई अनुरोध गर्न चाहन्छौं ।
साथै, नेपाल पत्रकार महासंघ युके र गैरआवासीय नेपाली संघ (एनआरएन) युकेसित मिलेर एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरिएको थियो । एनआरएनए यूके र नेपाल पत्रकार महासंघ यूकेवीच सहकार्यमा युकेमा एक च्यारिटी कार्यक्रम गरी वचत गरिएको १६ लाख रुपैयाँबाट सो पुरस्कार स्थापना भएको थियो तर सो पुरस्कारको वितरणमा नेपाल पत्रकार महासंघ युकेलाई बाइपास गरी वितरण गरिँदै आइएको छ । गतवर्ष पनि सो पुरस्कार वितरणमा शाखासित कुनै परामर्श गरिएन । त्यसले हाम्रो एनआरएनए आइसिसीलाई के अनुरोध छ भने सो पुरस्कारको वितरणमा नेपाल पत्रकार महासंघ युकेलाई ससम्मान समावेश गरियोस्। हामी एनआरएनसितको सहकार्य तीतो भएर टुंगिन होइन स्वादिलो भएर झांगियोस् भन्ने चाहन्छौँ । यदि सो पुरस्कार कोषलाई महासंघ युके र एनआरएनए युकेको संयुक्त बैँक खातामा सारिएमा सो कोषको राशीलाई ५० लाख रुपियाँ पुर्याउने शाखाको योजना छ ।

 

४. प्रवासमा रहेका राजनैतिक संगठनसंगको सम्बन्ध

नेपाली समुदायलाई संगठित बनाउन, नेपाली दुतावासलाई सहयोग गर्न, गैर आवासीय नेपाली संघलाई सन्तुलित गर्न प्रवासमा रहेका राजनैतिक भातृ संगठनको महत्वपूर्ण भूमिका रहन्छ । नेपाल र नेपाली समुदायका हितमा उठाइने जायज मुद्दामा नेपाल पत्रकार महासंघको हिजो आज र भोलि साथ रह्यो र रहनेछ । नेपाल पत्रकार महासंघ सबै आस्था र विचारलाई सम्मान गर्दै पत्रकारिता र समाजको उन्नतिका लागि सबैसित सहकार्य गर्न तयार रहेको जानकारी गराउन चाहन्छ ।

इ. समसामयिक प्रस्तावहरु
अब म यस साधारण सभामा शाखाका तर्फबाट केही समसामयिक प्रस्तावहरु पेश गर्न चाहन्छु :

१) कोरोना भाइरसको महामारीको चपेटामा परी बेलायतमा ज्यान गुमाउनुभएका नेपालीहरु तथा विश्वभर दिवंगत हुनुभएका सम्पूर्ण नेपाली पत्रकारहरुप्रति यस साधारणसभा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै सम्बन्धित परिवारमा समवेदना व्यक्त गर्दछ ।

२) कोरोना भाइरसका कारण सिर्जित यस विषम परिस्थितिमा सरकारले लागू गरेका निर्देशनहरुको पालना गरी आफू तथा आफ्नो परिवारको स्वास्थ्यको ख्याल राख्न यो साधारण सभा बेलायतस्थित सम्पूर्ण नेपाली समुदायसित अनुरोध गर्दछ ।

३) कोरोना भाइरसले नेपाली मिडिया उद्योगमा पारेको प्रभावका कारण धेरै नेपाली पत्रकार पत्रकारिताबाट विस्थापित हुन पुगेका छन् । कैयौँले तलव पाएका छैनन् । यस कठिन परिस्थितिमा मिडिया उद्योगका लागि राहत प्याकेज ल्याउन यस साधारणसभा नेपाल सरकारसँग माग गर्दछ साथै मिडिया उद्यमीहरुलाई पत्रकारहरुलाई निस्कासन नगर्न र तलव रोक्का नगरी अन्य उपाय अवलम्बन गर्न अपील गर्दछ ।

४) अरु सामान्य समयमा भन्दा महामारीको बेलामा सत्य तथ्य सूचनाको महत्व झन् बढी हुन्छ । गलत सूचनाले मानिसलाई झन् जोखिममा धकेल्न सक्छ । त्यसैले बेलायतस्थित नेपाली पत्रकारहरुलाई पहिलेभन्दा अझ गम्भीर र जिम्मेवार भएर सत्यतथ्य र पत्रकारिताको स्थापित मूल्यमान्यता तथा आचारसंहितालाई पालना गरी कार्यसम्पादन गर्न हार्दिक अनुरोध गर्दछ ।

५) महामारीले बेलायतस्थित नेपाली समाज र नेपाली उद्यमीहरुलाई पनि असर गरेको विदितै छ । तथापि यस्तो विषम परिस्थितिमा सामुदायिक पत्रकारिताको महत्व झन् टड्कारो हुन्छ । त्यसैले यहाँ सञ्चालित नेपाली मिडिया र पत्रकारहरुलाई सहयोग गरिदिन हामी युकेस्थित नेपाली उद्यमीहरु र सम्पूर्ण नेपाली समुदायमाझ हार्दिक अपील गर्दछौँ ।

६) पछिल्लो समयमा बेलायतस्थित नेपाली समुदायका सामाजिक गतिविधिमा संलग्न तथा विभिन्न संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरुबाट सञ्चारमाध्यममा प्रकाशित सामग्रीमाथि चित्त नबुझेको अवस्थामा पत्रकारहरुलाई सामाजिक सञ्जालमार्फत धाकधम्की दिने, मुद्दा हाल्दिन्छु भनेर मानसिक यातना दिने आदि कार्य बढेको हुँदा यस साधारणसभा सम्बन्धित सबैमा प्रकाशित सामग्रीमाथि आपत्ति भए त्यसमाथि अपनाउनु पर्ने प्रचलित तरिका अपनाउन अनुरोध गर्दछ ।

७) युकेबासी नेपालीहरुको छाता संस्था गैरआवासीय नेपाली संघ युकेमा पछिल्लो सममा देखिएको विवादले हामीलाई दुःख लागेको छ । महामारीले थिल्थिलो पारेको यस्तो पृष्ठभूमिमा सबैले आफ्ना व्यक्तिगत स्वार्थ त्यागेर सामाजिक कार्यमा अघि सर्नुपर्ने क्षणमा यस्ता विवादमा अल्झनु कदापि उचित देखिँदैन । त्यसैले सम्बन्धित सबै पक्षलाई आपसी वार्ता, सम्वाद र सहमतिबाट चाँडोभन्दा चाँडो समस्याको समाधान निकाल्न हामी हार्दिक अपील गर्दछौँ ।

अन्त्यमा यस साधारण सभाका प्रमुख अतिथि, अतिथिहरु, नेपाल पत्रकार महासंघ युके शाखाका सल्लाहकारहरु , केन्द्रीय सभासदहरु, कार्यसमितिका पदाधिकारी र सदस्यहरु तथा शाखाका सम्पूर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै साधारण सभालाई सफल बनाउन अहोरात्र खटिनु हुने नेपाल पत्रकार महासंघ यूकेकी उपाध्यक्ष तथा यस साधारण सभा आयोजक समितिकी संयोजक विमला सेने लगायत यस कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा हृदयदेखि नै आभार प्रकट गर्दछु ।
धन्यवाद ।

महासचिव
नेपाल पत्रकार महासंघ, युके शाखा

२९ नोभेम्वर २०२०, यूके