पत्रकार महासंघ यूकेमा शुद्धिकरण अभियान सुरु

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले संस्थाभित्र सदस्यता शुद्धिकरणको अभियान सुरु गर्ने भएको छ ।

शाखाको नवनिर्वाचित चौंथो कार्यसमितिको जुलाई १ सम्पन्न पहिलो बैठकबाटै शुद्धिकरण प्रक्रिया अघि बढाउन एक समिति गठन गर्ने निर्णय गरिएको छ । शाखाका संस्थापक सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा वरिष्ठ उपाध्यक्षद्धय ध्रुबराज अर्याल र श्याम लुईंटेल, उपाध्यक्ष विमला सेने तथा महासचिव सञ्जयभक्त कंडेल सदस्य रहेको ५ सदस्यीय शुद्धिकरण समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

पछिल्लो समय गैरपत्रकारहरु समेतलाई शाखाको सदस्यता वितरण भएको भन्दै संस्थाभित्रै चरम असन्तुष्टी र गुनासोहरु बढेपछि गत मे मा सम्पन्न अधिवेसनमै संस्थालाई शुद्धिकरणमा लैजाने प्रस्ताव पारित गरिएको थियो । उक्त समितिले नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्यता प्राप्तिका लागि पूरा हुनुुपर्ने निश्चित आधारभुत मापदण्ड तयार गरी यसअघि सदस्यता प्राप्त गरिसकेका तथा सदस्यताका लागि आवेदन गर्नेहरु सबैले उक्त मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा आवश्यक अध्ययन र छानबिन गर्नेछ । सदस्यताको लागि योग्य तथा अयोग्य रहेकाहरुको बारेमा समितिले कार्यसमितिमा सिफारिस गर्ने र सोहि सिफारिसको आधारमा कार्यसमितिले निर्णय लिने बताइएको छ ।

चौंथो अधिवेसनअघि आवेदन गरेका तथा अहिलेसम्म निर्णय हुन बांकी रहेका १९ जनाको सम्बन्धमा पनि उक्त समितिले नै अध्ययन गरी कार्यसमितिलाई सिफारिस गरी पठाउने भएको छ ।

गत महिना सम्पन्न अधिवेसनको समिक्षा गर्दै बैठकले विगतमा भएका कमीकमजोरीहरुलाई सच्चाएर आगामी दिनमा संस्थाको प्रतिष्ठालाई उचो बनाउने गरी एकताबद्ध रुपमा अघि बढ्ने निर्णय गरेको छ । बैठकले अधिवेसनकै दिनमा नवनिर्वाचित महासचिव सञ्जयभक्त कंडेलमाथि कार्यसमितिकै नवनिर्वाचित सदस्य खुशी लिम्बुबाट भौतिक रुपमै आक्रमण भएको सम्बन्धमा परेको उजुरीमा आरोपित लिम्बुसंग १ साताको म्यादसहित लिखित स्पष्टिकरण माग्ने निर्णय गरेको छ । उनको स्पष्टीकरणपछि यस सम्बन्धमा आवश्यक निर्णय लिने जिम्मा पदाधिकारीहरुलाई दिइएको छ ।

बैठकमा निवर्तमान कार्यसमितिका महासचिव लिलामान शेरपुञ्जा र कोषाध्यक्ष पुर्ण गुरूंगबाट नयां कार्यसमितिका महासचिव सञ्जयभक्त कंडेल र कोषाध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीलाई सम्बन्धित खातापाता तथा हिसाबकिताबको बुझ बुझारथ गरिएको थियो । त्यस्तै, यसअघि शपथ ग्रहण गर्न बांकी नयां कार्यसमितिका केहि पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण पनि सोही अवसरमा सम्पन्न गरिएको थियो । बैठकले शाखाका निवर्तमान सल्लाहकार केशव भण्डारीकी आमा श्रीमती कौशल्यादेवी भण्डारी तथा सदस्य प्रकाश अर्यालका पिता धर्मराज अर्यालको हालै निधन भएकोमा दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।

शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन महासचिव सञ्जयभक्त कंडेलले गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्षद्धय ध्रुबराज अर्याल र श्याम लुईंटेल, उपाध्यक्षद्धय लिलामान शेरपुञ्जा र विमला सेने, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवत्रय शिव भण्डारी, पूर्ण गुरुङ र जगन कार्की, कोषाध्यक्ष सिद्धार्थविक्रम क्षेत्री, सदस्यहरु गणेश खड्का, मञ्जु भण्डारी र खेमराज रानाभाटका साथै आमन्त्रित अतिथिका रुपमा संस्थापक अध्यक्ष नविन पोखरेल र संस्थापक सदस्य विपिन निरौलाको पनि सहभागिता थियो ।

तस्बिर शिव भण्डारी

स्राेत नेपालीपत्रडटकम