नेपाल पत्रकार महासंघ युकेद्वारा एनअारएन अध्यक्षसित अन्तरक्रिया

लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टसहितका पदाधिकारीलाई मंगलबार औपचारिक बधाइ तथा शुभकामना दिएको छ । सांझ लन्डनमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा शाखा अध्यक्ष नरेश खपांगीमगरले एनआरएनए अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, सहकोषाध्यक्ष सोम सापकोटा, युरोप कोअर्डिनेटर शिव बरुवाल, एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य गोविन्द सुवेदी, एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहाललगायतलाई औपचारिक बधाइ दिंदै कार्यकाल सफलताको शुभकामना दिए ।

कार्यक्रममा एनआरएनए अध्यक्ष भवन भट्टले केही समययता संघविरुद्ध सामाजिक सञ्जालमा भइरहेका टिका टिप्पणीको प्रष्टिकरण दिए । ‘एनआरएनए अभियान विरुद्ध बोल्नेहरु राष्ट्रलाई सहयोग नगर्ने तत्व हुन्’, केही आक्रामक शैलीमा प्रस्तुत भएका भट्टले भने, ‘सके सहयोग गरौं नसके भ्रम फैलाउने काम नगरौं ।’

उनले एनआरएनए भवन बेच्ने योजना भएको, लाप्राक वस्ती अन्य ठेकेदारलाई दिन लागिएको, मनोमानी ढंगले कर्मचारी नियुक्ति, कोष दुरुपयोग आदि जस्ता भ्रामक समाचारको सिधै खण्डन गरे । ‘आफ्नै भवन हुनुपर्छ भनेर शुरुमा ३० लाख रुपैयां हाल्ने म नै पहिलो व्यक्ति हुं’, भट्टले प्रश्न गरे, ‘जसको पहलमा भवन निर्माण शुरु भएर अन्तिम चरणमा छ भने अब किन बेच्ने ?’

उनले लाप्राक बस्ती निर्माण शुरु देखिनै ठेकेदारलाई दिइएको र पछि आफ्ना झन दक्ष प्राविधिक थपिएको प्रष्टयाए । लाप्राकमा निर्माण भइरहेको ५७२ घर करिब ९ महिनाभित्र हस्तान्तरण गरिने र एनआरएनए भवन ३, ४ महिनाभित्र सम्पन्न हुने उनले जनाए । ३२ रोपनीभित्र बनिरहेको शंखमुल गार्डेन पनि अन्तिम चरणमा पुगेको, देशलाई लोडसेडिङ मुक्त बनाउन एडिबीको सहकार्यमा उज्यालो नेपाल अभियान अगाडि बढेको, सानिमा बैंकमा रहेको ४ करोड रुपैयां बढि ब्याज ११. ३ प्रतिशत आउने भएपछि मेघा बैंकमा सारिएको, विदेशको शैक्षिण प्रणाली बुझ्न नेपालका कम्तीमा प्रत्येक गाउंपालिका (७५४) मा विदेशी स्कुलसंग मितेरी सम्वन्ध गांस्ने कार्य भइरहेको, टेलिमेडिसिन स्थापना, ओपन युनिभर्सिटी, ५०० ट्रली वितरण, सडक दुर्घटना कम गर्न नौबिसे देखि मुग्लिङसम्म जोखिम क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गर्न लागिएको पनि भट्टले जानकारी दिए ।

बेलायतबाटै सोमबार घोषणा भएको १० अर्ब रुपैयांको पूर्वाधार विकास कोषबारे थप प्रष्टयाउंदै भट्टले यसमा साथ दिन विश्वभरका नेपालीलाई आग्रह गरे । ‘हामी छिट्टै आइपिओमा जान्छौं । यो अभियान देशलाई आर्थिक रुपमा समृद्ध बनाउने लक्ष्यमा केन्द्रित भएकाले सबै गैर आवासीय नेपालीको सहयोग खांचो छ’, उनले भने, ‘१० अर्ब लगानीको इकोनोमी भ्यालु एकसय अर्बसम्म हुन्छ । यसले देश विकासमात्र होइन रोजगारी पनि सृजना गर्नेछ ।’

उनले मुलुकको अर्थतन्त्र मजबुत बनाइ व्यापार व्यवसाय सहजीकरणका लागि कम्तीमा ३० वटा मुलुकसंग डिटिए, इपिए, बिप्पा आदि सम्झौता गर्न पहल भइरहेको पनि बताए ।

उक्त कार्यक्रममा एनआरएनए उपाध्यक्ष कुमार पन्तले एनआरएन अभियान शुरु भए देखि नै मिडियाले ठूलो सहयोग गरेको बताउंदै पत्रकारहरुसंग सहकार्य गर्न आफूहरु सधैं तयार भएको बताए । ‘पत्रकारहरुसंग सहकार्य नै हाम्रो सफलता हो’, पन्तले भने, ‘नेपालको विकास, समृद्धि र नेपालीको हितका लागि पत्रकारहरुको साथ महत्वपूर्ण छ ।’

पन्तले १० अर्बको पूर्वाधार विकास कोषमा सहभागी हुन सबैलाई आग्रह गर्दै धनमात्र नभइ देशका लागि ज्ञान, सीप र बुद्धि समेत अपरिहार्य भएकाले अक्टोबरमा काठमाण्डौंमा बिज्ञ सम्मेलन गर्न लागिएको जनाए ।

अर्का उपाध्यक्ष कुल आचार्यले आफ्ना केही कमी कमजोरी भए सुधार्न पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सुझाव सल्लाह अपेक्षा गरे । सहकोषाध्यक्ष सोम सापकोटाले नयां कार्यसमितिका विभिन्न योजना रहेको बताउंदै संस्थाको मुल मर्म जिवित राखि राख्न पत्रकारहरुको साथ आवश्यक भएको बताए ।

कार्यक्रमका सभापति एवं शाखा अध्यक्ष नरेश खपांगीमगरले पत्रकार र एनआरएनबीच शुरु देखि नै भावनात्मक सम्वन्ध रहेको बताउंदै ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण प्रक्रिया सहज र पारदर्शी बनाइदिन संघसमक्ष आग्रह गरे ।

वीनेपालीडटकमबाट