नेपाल पत्रकार महासंघ युके सदस्यता वितरणसम्बन्धी नियमावली २०१५

नेपाल पत्रकार महासंघ युके सदस्यता वितरणसम्बन्धी नियमावली २०१५

१. प्रस्तावना

नेपाल पत्रकार महासंघ युके शाखाको विधान–२०१०, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको विधान २०६० र वैदशिक शाखा नियमावली २०६७ को अधिनमा रही बेलायतमा कार्यरत नेपाली पत्रकारलाई प्रदान गरिने सदस्यता वितरण र शाखाको कार्यसमितिको निर्वाचनसम्बन्धी विधिलाई अझ वैज्ञानिक तथा सरलीकरण गर्ने उद्देश्यले यो सदस्यतासम्बन्धी नियमावली–२०१५ जारी गरिएको छ । यो नियमावली जारी भएपछि शाखाको संस्थागत विकासका साथै सदस्यता वितरण र नवीकरणमा देखिएको अन्योल अन्त्य हुने विश्वास गरिएको छ । यो नियमावलीको मुख्य उद्देश्य शाखाको सदस्यता वितरण प्रकृयालाई थप मद्दत पु-याउने छ ।

२. उद्देश्य

क.     नेपाल पत्रकार महासंघ बेलायतको सदस्यता वितरणलाई सरलीकरण गर्ने ।

ख.     बेलायतमा कार्यरत सबै पत्रकारलाई सदस्यताका माध्यमबाट नेपाल पत्रकार महासंघ युके शाखासँग आवद्ध गर्ने ।

ग.     शाखाका सदस्यता नवीकरण प्रकृयालाई ब्यवस्थित गर्ने ।

घ.     ब्यावसायिक पत्रकारहरुलाई पहिचान गरी सक्रिय रुपमा लाग्न प्रेरणा प्रदान गर्ने ।

ङ.    महासंघके नेतृत्व विकासका लागि अधार तयार गर्ने । †

च.    नेपाल पत्रकार महासंघ यूके शाखाको कार्यसमितिको निर्वाचन प्रकृयालाई व्यवस्थित गर्ने ।

३. संक्षिप्त नाम र प्रारम्भ

विषय वा प्रसँगले अर्को अर्थ नलागेमा

क.   यस नियमावलीको नाम ‘नेपाल पत्रकार महासंघ युके सदस्यता वितरणसम्बन्धी नियमावली २०१५’ हुनेछ ।

ख.     समिति भन्नाले नेपाल पत्रकार महासंघ युकेको कार्यसमितिलाई बुझाउने छ ।

ग.     शाखा भन्नाले नेपाल पत्रकार महासंघ यूकेलाई जनाउने छ ।

घ.     अध्यक्ष भन्नाले नेपाल पत्रकार महासंघ युकेको अध्यक्षलाई जनाउने छ  ।

छ.     यो नियमावली कार्यसमितिको बैठकले अनुमोदन गरेपछि मात्र लागू हुनेछ ।

ज.  निर्वाचन समिति भन्नाले नेपाल पत्रकार महासंघ बेलायतको कार्यसमितिको निर्वाचन गर्न गठित समितिलाई बुझाउँछ ।

झ. पदाधिकारी भन्नाले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षलाइ जनाउँछ । †

४.  नेपाल पत्रकार महासंघ युके शाखाको सदस्यता प्राप्त गर्ने विधि नयाँ सदस्यताका लागि आवश्यक कागजात†

क) कार्यरत संस्थाको परिचयपत्र

ख) कार्यरत संस्थाबाट अनुभव खुल्ने सिफारिस पत्र

ग) फोटो भएको परिचयपत्र जस्तै राहदानीको प्रतिलिपि र दुइप्रति तस्वीर

घ) विगत १ वर्षदेखि निरन्तररूपमा पत्रकारितामा सक्रियरहेको  प्रमाणित गर्न प्रकाशित वा प्रसारित समाचार सामग्रीको ३ वटा प्रतिलिपी

ङ ) शाखाको तोके बमोजिमको फाराम भरेको हुनुपर्ने ।

५. सदस्यता नवीकरण विधि†

क) नवीकरण शुल्क अनिवार्य भुक्तानी हुनुपर्ने ।

ख) तोकिए बमोजिमको फाराम भरिएको हुनुपर्ने ।

ग) पछिल्लो १ वर्ष लगातार पत्रकारिता गरेको प्रमाणस्वरूप प्रकाशित वा प्रसारित सामग्री तीनप्रति अनिवार्य पेश गर्नुपर्ने ।

६. सदस्यता शुल्क

क) शाखाको नयाँ सदस्यता शुल्क ३० पाउण्ड तोकिएको छ । सो रकम सदस्यताका लागि आवेदन दिँदा फारामसँग अनिवार्य पेश गर्नुपर्ने छ । सदस्यता शुल्क नेपाल पत्रकार महासंघ युके शाखाको खातामा जम्मा भएको भौचर वा शाखाको नाममा लेखिएको चेकमार्फत भुक्तानी गर्नुपर्ने छ । सदस्यता शुल्क नगद स्वीकार्य हुने छैन ।

ख) नवीकरण शुल्क वार्षिक १५ पाउण्ड लाग्ने छ । सदस्यता नवीकरण हरेक वर्ष गर्नुपर्नेछ । कुनै कारणवश सदस्यता नविकरण गर्न छुटेको भए दुइ वर्षसम्ममा दुइगुना शुल्क तिरी नविकरण गर्न सकिने छ । यदि त्यस अवधिभित्र पनि नविकरण नगरेमा सदस्यता स्वत खारेज हुने छ र त्यसपछि नयाँ सदस्यसरह सदस्यताका लागि निवेदन दिनुपर्नेछ ।

 ७. शाखाको सदस्यता समाप्ति

देहाय बमोजिमको अवस्थामा शाखाको सदस्यतास्वत रद्द हुनेछ ।

क) सदस्यता नवीकरण नगरेमा वा सदस्यताको शुल्क नतिरेमा ।

ख) फौजदारी मुद्दा लागेमा ।

ग) पत्रकारितामा सक्रिय नरहेमा ।

घ) मृत्यु भएमा ।

ङ) सदस्यता त्याग गरेमा ।

च) महासंघबाट अनुशासनको कारबाहीमा परेमा ।

८. शाखाको सदस्यतासम्बन्धि कुनै विवाद आएमा त्यससम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार कार्यसमितिमा निहित रहने ।

९. शाखाको सदस्यताको लागि आवेदन दिने विधि र मिति†

शाखाको सदस्यता लिन चाहने ब्यक्तिले सदस्यताका लागि अवश्यक कागजातसहित महासचिवलाइ सम्बोधन गरी निवेदन दिन पर्नेछ । प्राप्त कागजात र रित पुगेको निवेदन कार्यसमितिमा पेश गरिनेछ र कार्यसमितिको बैठकले पारित गर्नेछ ।

क) सामान्यतया शाखाको सदस्यता सधै खुल्ला रहने छ ।

ख) सदस्यता माग फारमलाई प्रत्येक तीन– तीन महिनामा कार्यसमिति समक्ष पेश गर्न सक्ने छ ।

१०. बार्षिक साधारणसभा तथा निर्वाचन†

क)  सामान्यतया वार्षिक साधारण सभा हरेक वर्ष र नयाँ कार्यसमितिको निर्वाचन हरेक २ वर्षमा गरिने छ ।

ख) वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको चयन गर्ने मिति कार्यसमितिको बैठकले तोके बमोजिम हुने छ ।

ग) तोकिएको समयसीमा पछि सदस्यता प्राप्त सदस्यले सो साधारणसभाका लागि पर्यवेक्षकका रुपमा रहने छन् मताधिकार पाउने छैनन्।

११. निर्वाचन समिति गठन

क) शाखाको नयाँ कार्यसमितिको निर्वाचनका लागि विभिन्न संचारक्षेत्रमा कार्यरत वा संचारक्षेत्रमा दखल राख्ने र विभिन्न संघसंस्थाको निर्वाचन गराई अनुभव प्राप्त गरेको तथा सामान्य कानुनको ज्ञान भएको ब्यक्ति समेतको सहभागितामा बढीमा ५ सदस्यसीय निर्वाचन समिति गठन हुनेछ ।

ख) मतदाताको नामावली कार्यसमितिले निर्णय बमोजिम हुनेछ ।

ग) उम्मेदवारी शुल्क कार्यसमितिले तोके बमोजिम हुनेछ ।

घ) निर्वाचनको विधि निर्वाचन समितिले तोके बमोजिम हुनेछ ।

१२. सदस्यतालाइ व्यवस्थित बनाउने सम्बन्धमा बिशेष ब्यवस्था

बेलायतबाट प्रकाशन हुने साप्ताहिक, मासिक, द्वैमासिक पत्रपत्रिका, रेडियो, टिभी, अनलाइनहरुको यस शाखामा समान प्रतिनिधित्व गर्ने उद्देश्यले यो बिशेष ब्यवस्था गरिएको छ ।

क) बेलायतबाट प्रकाशित साप्ताहिक पत्रिका, रेडियो र टेलिभिजनले बढीमा ५ जनासम्म सदस्यको लागि शाखामा नाम सिफारिस गर्नसक्ने छन ।

ख) मासिक पत्रिकाले बढीमा ३ जना सदस्यको लागि शाखामा नाम सिफारिस गर्न सक्ने छन ।

ग) अनलाइन समाचार पोर्टलहरुले बढीमा ३ जना सदस्यको लागि शाखामा नाम सिफारिस गर्न सक्ने छन् ।

घ) द्वैमासिक पत्रिकाहरूले बढीमा २ जना सदस्यका लागि शाखामा नाम सिफारिस गर्न सक्ने छन् ।

ङ) बेलायतमा संचालित पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनले स्थानिय कानुन अनुसार अनिवार्य रूपमा दर्ता भएका प्रमाण पेश गर्न पर्ने छ र सदस्यता सिफारिस गर्नका लागि त्यस्ता संचारमाध्यमहरू कम्तीमा एक वर्षदेखि नियमित रूपमा प्रकाशन प्रसारण र अपडेट भइरहेको हुनु पर्नेछ । अनलाइनहरूले सम्पादन समूहको प्रिन्टलाइन तथा ठेगाना समेत खुलाउनु पर्ने छ । ब्लगलाइ अनलाइन भित्र समेटिने छैन ।

च) नेपालबाट संचालित मिडियाको प्रतिनिधिका सवालमा प्रेस काउन्सिल नेपालले वर्गीकरण गरेको पत्रपत्रिकामध्ये क वर्गमा परेको र अन्य मिडियाका हकमा प्रकाशन, प्रसारणले राष्ट्रिय मिडियाका रूपमा मान्यता पाएका र अनलाइनका हकमा प्रेस काउन्सिलमा दर्ता भएका मिडियाका प्रतिनिधिलाइ मात्र सदस्यता दिन सकिने छ ।†

छ) कुनै संघसस्थाको मुखपत्रबाट आएको सिफारिस पत्र शाखाको सदस्यताका लागि मान्य हुने छैन ।

१३. नेपाल पत्रकार महासंघ युके शाखाको नेतृत्वमा परिपक्वता ल्याउन अध्यक्ष पदमा उम्मेदवारी दिन कम्तिमा एक कार्यकाल कार्यसमितिमा पदाधिकारी रहिसकेको हुनुपर्नेछ । यस्तै कार्यसमितिको पदाधिकारीमा उम्मेदवारी दिन एक कार्यकाल कार्यसमितिमा रहिसकेको वा  एक कार्यकाल सभासद वा सल्लाहकार रहेर काम गरेको अनुभव हुनु पर्ने छ । यदि त्यसअनुसारको अनुभव भएको कसैको पनि उम्मेदवारी नपरे बाँकी सदस्यहरूबाट उम्मेदवारी दर्ता गरिने छ ।†

१४. यस नियमावली लागू हुनु अगावै सदस्यता प्राप्त गरिसकेका शाखाका सदस्य पत्रकारहरूका हकमा यस नियमावलीको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रावधान लागू हुने छैन ।

१५) यो नियमावलीमा भएका कुनै प्रावधान नेपाल पत्रकार महासंघ केन्द्रको विधान, नेपाल पत्रकार महासंघ युकेका विधान र वैदेशिक शाखा नियमावलीसित बाझिन गएमा बाझिएका खण्ड स्वत रद्द हुनेछ ।

१६) यो नियमावलीको व्याख्या गर्ने अधिकार नेपाल पत्रकार महासंघ यूके शाखामा निहित रहनेछ ।

 

मयौदा समिति

संयोजक — भगिरथ योगी

सदस्यहरु

— चिरन शर्मा

— नरेश खपाङ्गी मगर

— श्याम लुइँटेल

— नविन पोखरेल

† २०१७ डिसेम्बर २ को बैठकबाट संशोधित