एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरेल र कार्कीलाई प्रदान

लन्डन । पत्रकारद्वय होम कार्की (नेपाल) र नवीन पोखरेल (बेलायत) लाई ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ प्रदान गरिएको छ । एनआरएनए आठौं विश्व सम्मेलन समापन समारोहमा मंगलबार उक्त पुरस्कार प्रदान गरिएको हो । एनआरएनए अध्यक्ष शेष घले र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले कार्की र पोखरेल अनुपस्थित रहेकाले उनका बाबा रामचन्द्र पोखरेललाई पुरस्कार प्रदान गरे । पुरस्कारको राशी जनही ५० हजार पांचसय रुपैयां र ताम्रपत्र छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके र नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा संयुक्त रुपमा स्थापित उक्त पुरस्कार प्रवासी नेपालीकाबारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएनए विश्व सम्मेलनका अवसरमा प्रदान गरिन्छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगरले पुरस्कारबारे अवगत गराएका थिए ।
एनआरएनए कोषाध्यक्ष हिक्मत थापाले सञ्चालन गरेको समारोहमा एनआरएनए नवनियुक्त अध्यक्ष भवन भट्टसहित सयौं अभियन्ताहरु सहभागी थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहेको छनोट समितिले कार्की र पोखरेललाई संयुक्तरुपमा उक्त पुरस्कारका लागि छनोट गरेको थियो । कान्तिपुर दैनिकमा आवद्ध कार्कीले लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्या र वीनेपालीका प्रधानसम्पादक एवं कान्तिपुरमै कार्यरत पोखरेलले एक दशकदेखि बेलायत बसेर नेपालीकाबारेमा रिपोर्टिङ गर्दै आएका छन् ।

www.wenepali.com बाट