एनअारएनए पत्रकारिता पुरस्कार कार्की र पाेखरेललाई

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र नेपाल पत्रकार महासंघ युके शाखाद्वारा संयुक्त रुपमा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ पत्रकारद्वय होम कार्की (नेपाल) र नविन पोखरेल (बेलायत) लाई दिइने निर्णय भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहेको छनौट समितिले पत्रकार कार्की र पोखरेललाई संयुक्तरुपमा सो पुरस्कारका लागि छनौट गरेको हो ।

कान्तिपुर दैनिकमा आवद्ध कार्की लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा रिपोर्टिङ गर्दै आएका छन् भने वीनेपाली डटकमका प्रधानसम्पादक पोखरेलले एक दशकदेखि बेलायतका नेपालीका बारेमा रिपोर्टिङ गर्दै आएका छन् ।

प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएन विश्व सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिन्छ । पुरस्कारको राशी १ लाख १ हजार रुपियाँ रहेको छ ।

यही अक्टोबर १४–१७ तारिखमा काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा सो पुरस्कार प्रदान गरिने छ ।

छनौट समितिको जिम्मा दिएकोमा नेपाल पत्रकार महासंघ एनआरएनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

रमेश विष्ट

महासचिव

नेपाल पत्रकार महासङ्घ