पत्रकार महास‍ङ्घ युकेकाे च्यारिटीमा अभूतपूर्व सहभागिता

18618566_1635991723095625_1405892798_o

जेष्ठ ८, २०७४- नेपाल पत्रकार महासंघ, बेलायत शाखाले आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले आइतबार गरेको च्यारिटी नाइटमा करिब २५ हजार पाउण्ड (३० लाख रुपैयाँ) सहयोग प्रतिवद्धता आएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा आयोजित नेपलिज् प्रेस नाइटमा नेपाली समुदायबाट स्वतस्फूर्त उक्त रकम प्रतिवद्धता आएको शाखा अध्यक्ष नरेश खपांगीमगरले जानकारी दिए । बेलायतस्थित नेपाली पत्रकार र नेपाली समुदायलाई आपत परेका बेला सहयोगका लागि आपतकालिन कोष स्थापना गर्न कार्यक्रम गरिएको हो । अध्यक्ष खपांगीमगरले संकलित रकम पारदर्शी हुने र सही सदुपयोग गर्न समुदाय एवं पत्रकारहरु सम्मिलित ५ सदस्यीय सञ्चालक समिति गठन गरिने बताए ।

झण्डै ६ सय सहभागी उक्त कार्यक्रम यस वर्षकै सर्वाधिक सफल ठानिएको छ । कार्यक्रमको सफलतालाई अधिकांशले पत्रकारहरुप्रति नेपाली समुदायको विश्वासका रुपमा हेरेका छन् ।

दुत पुन संयोजक रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, लक्ष्मी प्रतिष्ठान नेपालका अध्यक्ष बिष्णु गौतम, ब्लाइन्ड रक्सकी सृष्टि केसी र लेबोर पार्टीका तर्फबाट बेलायतको संसदीय निर्वाचनका उम्मेदवार डा. बच्चु कैलाश कैनीले शुभकामना दिए ।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास लन्डनद्वारा प्रकाशित ४०० पृष्ठको ‘२०० इयर्स अफ नेपाल ब्रिटेन रिलेसन्स’ नामक अंग्रेजी पुस्तक समेत विमोचन गरिएको थियो । पुस्तक विमोचन नेपाल पत्रकार महासंघ यूके शाखाका अध्यक्ष खपांगीमगर, पूर्व अध्यक्षद्वय चिरन शर्मा र नवीन पोखरेल, पत्रकारहरु भगीरथ योगी, विश्वासदीप तिगेला, हरिकुमार गुरुङ र सोनाम शेर्पाले संयुक्त रुपमा गरेका हुन् ।

साथै पत्रकार दुत पुनद्वारा लिखित कथा संग्रह ‘अर्ली भाइ’समेत विमोचन गरियो । उक्त संग्रह राजदूत, अध्यक्ष खपांगीमगर र पत्रकार भगिरथ योगीले विमोचन गरेका थिए ।

कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेल, उपाध्यक्ष ध्रुवराज अर्यालले  स्वागत तथा कार्यक्रमको उद्देश्यबारे बोले । पहिलाेचरणकाे अाैपचारिक कार्यक्रम महासचिव लीलामान शेरपुन्जा र रमेश सराङकाेटीले गरेका थिए ।

दोश्रो चरणमा गायक गायिकाहरु लाली बुढाथोकी, गिता पाइजा, शर्मिला बर्देवा, मधुसुदन थापा, सुजन पराजुली, दिव्यानी शर्मा, क्याप्टेन (रि) बीरबहादुर थापा र चोक गुरुङले गाए भने सयपत्री कल्चरल ग्रुप र सुरक्षा रानाले नृत्य प्रस्तुत गरेका थिए । साँस्कृतिक कार्यक्रमकाे सन्चालन जानुका राईले गरेकी थिइन् ।

18641888_1635991719762292_1545895238_o

ईकान्तिपुरबाट photo all: Milan Tamu