पत्रकार महासङघ युकेले पत्रकारको आपतकालिन कोषका लागि च्यारिटी गर्ने

fnjuk-meeting
यस नेपाल पत्रकार महासंघ युके शाखाको बैठक अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा १८ डिसेम्बर, २०१६ का दिन अल्डरसटस्थित गोरखा किचेन रेस्टुरेन्ट, अल्डरसटमा बसी निम्न निर्णयहरु गरेकाले सोको जानकारी तथा आवश्यक कार्यान्वयनका लागि यो परिपत्र जारी गरिएको छ ।
निर्णयहरु
१. शाखाको रिक्त सभासद पदमा दुतबहादुर पुन, वाचस्पति रेग्मी र प्रजय शुक्ललाई मनोनयन गरियो ।
२. पत्रकारहरुको आपतकालिन सहयोगका लागि एक कोष स्थापना गर्न शाखाको आयोजनामा एक च्यारिटी कार्यक्रम आयोजना गर्ने निर्णय गरियो । सो कार्यक्रमको नामकरण नेपलिज प्रेस नाइट गर्ने र सोको लागि अध्यक्षको संयोजकत्वमा सल्लाहकारहरु, सभासदहरु, कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको एक आयोजक समिति बनाउने निर्णय गरियो । त्यस्तै, सो कार्यक्रमको मूल ब्यवस्थापनका लागि सभासद दुतबहादुर पुनलाई संयोजक तोकियो । महासचिव लीलामान शेरपुञ्जाले निजी खर्चमा सो कार्यक्रमका लागि नेपालबाट गायक खड्ग गर्बुजालाई ल्याउने जानकारी दिनुभयो ।
३. युकेमा कार्यरत पत्रकारहरुलाई बेलायतको प्रेस कानुनका बारेमा जानकारी दिन र अनुसन्धानमा आधारित पत्रकारिताका बारेमा एक तालिम यही जनवरी १४ मा आयोजना गर्ने निर्णय गरियो । सोको स्थानीय व्यवस्थापनको जिम्मा सल्लाहकार हरिकुमार गुरुङ ‘काजी’ लाई दिइयो । सो तालिममा सहभागी हुने पत्रकारहरुको नाम तयार गर्न अध्यक्षलाई जिम्मा दिइयो ।
४.अध्यक्षबाट नेपाली पत्रकारहरुको बोर्नमाउथ मिडिया स्कुल भ्रमण तथा अन्तर्राष्ट्रिय प्रेस पासका बारेमा भइरहेका प्रगतिका बारेमा जानकारी गराइयो ।
५. स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारको सहयोगका लागि शाखाले संकलन गरेको सहयोगका बारेमा जानकारी गराइयो र सो रकम नेपालमा रहनुभएका सल्लाहकार भगिरथ योगीबाट नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गर्ने निर्णय गरियो । शाखाका तर्फबाट सबै सहयोगदाताहरुलाई धन्यवाद दिइयो ।
६. शाखाका उपाध्यक्ष ध्रुवराज अर्याल, सचिव शिव भण्डारी र सदस्य सुजन पराजुली वैवाहिक बन्धनमा बाँधिनुभएकोमा शुभकामना दिइयो । यस्तै, विभिन्न अवार्ड पाउनुभएकोमा सभासद मिलन तमु, सदस्य सरविन्द्रकुमार गुरुङ,सदस्य जमुना पुन र कोषाध्यक्ष पूर्ण गुरुङलाई बधाई दिइयो । त्यस्तै, मगर संघ केन्टको अध्यक्ष हुनुभएकोमा सदस्य विजय हितानलाई, तमुधिँ युकेको अध्यक्ष हुनुभएकोमा सदस्य ज्ञाम गुरुङलाई र विश्व नेपाली साहित्य संघको अध्यक्षमा पुनर्निर्वाचित हुनुभएकोमा सदस्य विश्वासदीप तिगेलालाई बधाई दिइयो ।
अन्त्यमा बैठकका लागि हल व्यववस्थापन गरिदिनुभएकोमा सल्लाहकार हरिकुमार गुरुङ‘काजी’ लाई धन्यवाद दिँदै बैठक समापन गरियो ।
भवदीय
लीलमान शेरपुन्जामगर
महासचिव
२५ डिसेम्बर २०१६