नेपाली राष्ट्रिय क्रिकेट टीमको खेल प्रचार गर्न समिति

mcc vs nepal

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले लण्डनको लर्डस क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टोलीले खेल्ने क्रिकेट खेलको प्रचारका लागि समिति गठन गरेको छ ।
यही जुलाई १९ तारिखका दिन मार्लेबोन क्रिकेट क्लवसित नेपाली टोलीले खेल्ने सो खेलका बारेमा बेलायतस्थित नेपाली समुदायमा प्रभावकारी सूचना पुर्याउन गठित सो समितिको संयोजकमा शाखाका संस्थापक अध्यक्ष तथा कान्तिपुर दैनिकका समाचारदाता नविन पोखरेल रहेका छन् ।
समितिका सदस्यहरुमा शाखाका उपाध्यक्ष तथा हिमालयन मेलडटकमका सम्पादक ध्रुवराज अर्याल, सचिव तथा लण्डन नेपाल न्युजडटकमका सम्पादक शिव भण्डारी, शाखाका कोषाध्यक्ष एभरेष्ट टाइम्स साप्ताहिकका अतिथि सम्पादक पूर्ण गुरुङ, रेडियो राइनोका डाइरेक्टर दिनेशकुमार परियार, फोटोपत्रकार एभरेष्ट गौतम, सेतोपाटीडटकमका लण्डन संयोजक फडिन्द्र भट्टराई, रेडियो बिजिडब्ल्युएसकी प्रमिला राई, गोरखा रेडियोका नरेन्द्र बस्नेत र नेपाली टिभीका सिद्धार्थ शाक्य रहेका छन् ।
यसअघि जुन ८ तारिखमा लण्डनमा बसेको नेपाली समुदायको बैठकले महासंघलाई प्रचारप्रसारको जिम्मा दिएको थियो ।
महासंघले जारी गरेको विज्ञप्तिमा समितिलाई थप सदस्य राख्न र अन्य कार्य गर्न अधिकार प्रत्यायोजन गरिएको उल्लेख छ ।