बेलायतका नेपाली समुदायसंग पत्रकारहरुको पहिलो वृहत अन्तरसंवाद

 

13346293_1133012050052480_4039523117868888251_o

लण्डन । प्रेस र समुदायबीच कसरी सुदृढ सम्बन्ध बनाउने भन्ने विषयमा नेपाल पत्रकार महासंघ यूकेले बेलायतको नेपाली समुदायसंग एक वृहत अन्तरक्रिया गरेको छ । झण्डै एक सयको संख्यामा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजिवी तथा समुदायका अगुवाहरुसंग आइतबार अल्डरसटमा गरिएको अन्तरक्रियामा बेलायतका नेपाली मिडियाको अवस्था, उनीहरुका कमीकमजोरी, सुधार गर्नुपर्ने विषयहरुसंगै समुदाय र पत्रकारहरुबीचको सहकार्यका सम्भावनाहरुबारे छलफल गरियो ।
महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगरको अध्यक्षता तथा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सुरुमा महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुइंटेलले अन्तरक्रियाको अवधारणपत्र प्रस्तुत गरेका थिए । त्यसपछि कार्यक्रममा सहभागीमध्ये सबैलाई प्रतिनिधित्व गर्ने गरी झण्डै ३ दर्जन सहभागीलाई दिइएको पांच पांच मिनेटको निश्चित समयमा सबैले आ आफना धारणाहरु राखे ।
अन्तरक्रियाका अधिकांश सहभागीले यहांका मिडिया तथा पत्रकारहरुलाई समाचारको सही श्रोत पहिचान गरेर तथ्यपरक सूचना सम्प्रेषण गर्न, यहांको नयां पुस्तालाई आकर्षित गर्ने खालका सामग्री पस्कन तथा उनीहरुलाई पनि यो पेशातर्फ आकर्षित गर्न, बेलायतको नेपाली समुदायलाई मुख्य प्राथमिकतामा राखेर सकारात्मक सन्देश दिने खालका समाचारहरुलाई महत्व दिन, खोजमुलक सामग्रीहरुलाई पनि समेट्न लगायतका विषयमा सुझाव दिएका थिए ।
उनीहरुले पत्रकारहरुको दक्षता अभिबृद्धिमा समेत ध्यान दिन जरुरी रहेको बताउंदै समुदायबाट आवश्यक हुने जस्तोसुकै सहयोगका लागि पनि आफुहरु तयार रहेको प्रतिवद्धता जनाए ।
वक्ताहरुले बेलायतमा पछिल्ला केहि वर्षहरुमा नेपाली पत्रकारिताको विकास गौरव गर्न लायक भएको भन्दै यहांका मिडिया तथा मिडियाकर्मीबाट समुदायका लागि भएको योगदानको खुलेर प्रशंसा समेत गरेका थिए । निकै सिमित स्रोत र साधनबीचको असहज परिस्थितिमा पनि यहांका नेपाली मिडियाहरुले सम्पादन गरिरहेको काम र उनीहरुको स्तर उत्साहप्रद रहेको उनीहरुको धारणा थियो ।
कार्यक्रमका प्रमुख अतिथी कावा राजदूत तेजबहादुर क्षेत्रीले सकारात्मक सन्देश प्रवाह गर्ने सामग्रीको प्रकाशनलाई प्राथमिकतामा राख्न सुझाव दिए । बेलायतको मूलधारको मिडियासंग सहकार्य गर्न सके नेपाली पत्रकारहरुले धेरै विषय सिक्ने र त्यसले समग्र पत्रकारिताको स्तर उन्नतिका लागि सहयोग पुरयाउने उनको विचार थियो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले बेलायतमा नेपाली मिडिया र स्थानीय नेपाली समुदायसंगको सम्वन्ध आफूले निकै उदाहरणीय पाएको भन्दै यसबाट समुदायले धेरै लाभ लिन सक्ने धारणा राखे ।
महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगरले आफूहरुप्रतिको समुदायको दृष्टिकोण र अपेक्षा के छ भन्ने बुझने उद्देश्यले अन्तरक्रिया गरिएको भन्दै समुदायसंगको सहकार्यका लागि यो कार्यक्रम सुरुआत मात्र भएको बताए ।
महासंघ बेलायतका उपाध्यक्ष ध्रुबराज अर्यालले कार्यक्रमको अन्त्यमा सहभागी सबै वक्ताहरुबाट व्यक्त विचारहरुको सारांश सहभागीहरुमाझ प्रस्तुत गरेका थिए ।

महासचिव लिलामान शेरपुञ्जाले सञ्चालन गरेको कार्यक्रममा अन्तरक्रियाको चरणमा मोडरेटरको भूमिका रमेश सरांगकोटीले गरेका थिए भने अन्तरक्रियाको र््यापोटिंग पत्रकार फणिन्द्र भट्टराईले गरेका थिए । दिनेश परियारले रेडियो राइनोबाट कार्यक्रमको प्रत्यक्षप्रसारण गरेका थिए भने पत्रकारहरु पूर्ण गुरुंग, एभरेष्ट गौतम, मिलन तमु लगायतले कार्यक्रमको भिडियोग्राफी तथा फोटोग्राफीको जिम्मा सम्हालेका थिए ।
कुनै अतिथीको आसन ग्रहणबिना नै उपस्थित सबैलाई समान रुपमा अतिथीका रुपमा सहभागी गराइएको कार्यक्रमका वक्ताहरुलाई औपचारिक सम्बोधनमा समय खर्च नगरी सिधै विषयवस्तुमा मन्तव्य राख्न लगाइएको कार्यक्रमको नौलो शैली सहभागीहरुले रुचाएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ बेलायतको नयां वेवसाइट कार्यवाहक राजदूत क्षेत्रीबाट सुभारम्भ गराइएको थियो । त्यही अवसरमा पत्रकार महासंघले हालै मनोनित गरेका सल्लाहकार, सभासद तथा कार्यसमितिका सदस्यहरुलाई पनि खादा ओढाएर स्वागत गरेको छ ।

– See more at: http://wenepali.com/2016/06/21387.html#sthash.gVYbUvCj.dpuf