बेलायत पत्रकार महासंघ अध्यक्षमा खपांगी

FNJ

फाल्गुन २४, २०७२- नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध निर्वाचित भएका छन् । शाखाको आइतबारसम्पन्न तेश्रो अधिवेशनले खपांगीलाई अध्यक्ष घोषणा गरेको हो ।

नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल, उपाध्यक्ष ध्रुवराज अर्याल र महासचिवमा लिलामान शेरपुन्जा निर्वाचित भएका छन् । सहमति हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव पदमा भने निर्वाचन भएको थियो ।

कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सचिव शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेती निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित भएपछि खपांगीले बेलायती मिडियासंग नेपाली पत्रकारहरुको सम्वन्ध विस्तार गरि व्यवसायिक पत्रकारिताको अभ्यासमा इट्टा थप्ने उद्घोष गरे । उनले बेलायतस्थित नेपाली डायस्पोराका अपेक्षालाई सम्वोधन गर्दै मिडियामार्फत नेपाली समाजलाई सम्वृद्ध बनाउन पहल गर्ने समेत जनाए ।

प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले कार्यसमितिलाई बधाई दिंदै बेलायतका नेपाली पत्रकारहरुले भूकम्प होस् वा अन्य सामाजिक काम, त्यस्तो परिस्थितिमा उल्लेखनीय सहयोग गरेको स्मरण गरे । क्षेत्रीले नेपाली समाजलाई सम्वृद्ध बनाउन पत्रकारिताको भूमिका उल्लेख्य हुने बताउंदै निष्पक्ष र सत्य तथ्यमा आधारित भएर आफ्नो जिम्मेवारी सम्हाल्न नयां कार्यसमितिलाई सुझाए ।

शुभकामना मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघका केन्दि्रय अध्यक्ष महेन्द्र विष्टले बेलायतस्थित नेपाली पत्रकारहरुबाट नेपालले धेरै अपेक्षा गरेको उल्लेख गर्दै सधैं नकारात्मक होइन, आलोचनात्मक पत्रकारिता गर्न सुझाए । उनले बेलायतका पत्रकारहरुलाई प्रशिक्षण वा अन्य माध्यमबाट नेपालमा बेलायती पत्रकारिताको सीप भित्र्याउन आग्रह गरे ।
चिरन शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्दि्रय उपाध्यक्ष अनिता विन्दु, महासचिव उजिर मगर, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, प्रगतिशील नेपाली समाजका सुरेन्द्र श्रेष्ठ, नेपाली टिभीकी संगीता मरहट्ठा, जेष्ठ सगरमाथा आरोही मीन शेरचन लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

यसअघि भएको बन्द सत्रले कोषाध्यक्ष देवी गौतमको आर्थिक र महासचिव श्याम लुईंटेलको वाषिर्क प्रतिवेदन पारित गरेको थियो । उक्त सत्रमा केन्दि्रय अध्यक्ष बिष्ट, उपाध्यक्ष विन्दु, महासचिव मगर, कोषाध्यक्ष सूर्यमणि गौतम, सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेलले प्रेस जगतका विभिन्न आयामबारे बोलेका थिए ।

तस्विर सौजन्यः एभरेष्ट गौतम

इकान्तिपुरबाट साभार