पत्रकार महासंघ युके तथा हेल्प नेपालद्वारा सहयोगका लागि अपील

शनिबार नेपालमा गएको विध्वंशक भूकम्पमा परी ५००० जना भन्दा बढीको ज्यान गैसकेको अधिकारीहरुले बताइरहँदा कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क युके शाखा तथा नेपाल पत्रकार महासंघ युके शाखाले पीडितहरुका लागि तत्काल आपत्कालिन सहयोग तथा दीर्घकालिन पुनर्निर्माणमा सघाउनका लागि सहयोग संकलन अभियान शुरु गरेक छन्।

इच्छुक सहयोगदाताहरुलाई https://www.justgiving.com/earthquake2015/ मा गएर सहयोग उनीहरुले आग्रह गरेका छन्।

अनलाईन डोनेशन गर्न संभव नभएका सोझै जा कुनै पनि मन ट्रान्सफर एजेन्सी मार्फत तलको खातामा सहयोग जम्मा गर्न सकिनेछ।

Account Name: HELP NEPAL Network

Account No: 043952P

Account type: Current
Bank Name: NB Bank Ltd.

Bank Address: Khichapokhari, New Road, Kathmandu

सबै सहयोगदाताहरुले आफुहरुले गरेको सहयोगबारे admin@helpnepal.net मा इमेल पठाएर जानकारी दिन पनि नेटवर्कले अनुरोध गरेको छ।

“विगत असी वर्ष यताको सबैभन्दा विध्वंशकारी भूकम्पका कारण लाखौं नेपाली दाजुभाइ दिदी बहिनीहरु नराम्रो संग प्रभावित भैरहनु भएका बेला संसारको जुनसुकै ठाउँमा बसेको भएपनि सक्दो सहयोग गर्नु सबै नेपालीहरुको कर्तव्य हो। त्यसैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न हामी हार्दिक अपील गर्दछौ,” हेल्प नेपाल नेटवर्क युके शाखाका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने ।

हेल्प नेपाल नेटवर्कले विगतमा पनि बाढी पहिरो तथा आगलागीबाट पीडित नेपाली जनसमुदायलाई थलोमै गएर राहत वितरण गर्दै आएको छ। गत सातामात्रै सप्तरीको रामपुरा-मल्हिनियामा भीषण आगलागीका कारण घरबारविहीन भएका दर्जनौं परिवारलाई हेल्पनेपाल नेटवर्कले भाँडाकुँडा, धोती-साडी, त्रिपाल र लुगाहरू वितरण गरेको थियो।

“हेल्प नेपाल मार्फत प्रदान गरिएको सबै सहयोग सीधै पीडित परिवार सम्म र पुनर्निर्माण कार्यमा उपयोग गरिने हुनाले हामीले संयुक्तरुपमा सहयोग संकलन गरिरहेका छौं। त्यसैले ढुक्क भएर विपदको यो समयमा मन खोलेर सहयोग गर्न हामी आह्वान गर्दछौं,” नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष चिरन शर्माले भने।

सन् १९९९ मा स्थापना गरिएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कका १४ मुलुकहरुमा शाखाहरु रहेका छन्।