पत्रकार महासंघ यूकेको स्मरणपत्र

लण्डन । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको आव्हान अनुसार तोकिएको समयमा नै संविधान निर्माणमा दवाद दिन महासंघ बेलायत शाखाले नेपाली दुतावास मार्फत संविधान सभाका अध्यक्ष तथा संविधानसभालाई स्मरणपत्र बुझाएको छ । आगामी माघ आठ गते संविधान जारी गर्न दलहरुलाई दवाद स्वरुप बेलायत शाखाले सो ज्ञापनपत्र बुझाएको हो ।
‘नेपाली जनतासंग गरेको बाचा नतोडौं, २०७१ माघ ८ गते भित्रै संविधान निर्माण गरौं’ भन्ने मुल आव्हान सहित बुझाइएको स्मरणपत्रमा संविधानसभाबाट भइरहेका पहलको स्वागत गरिएको छ । यद्यपी पछिल्ला दिनमा दलहरूबीच बढ्दै गएको असहमति र धु्रवीकरणले संविधानसभा कतै आफैले बाचा गरेको समयसीमा भित्र संविधान दिन फेरि पनि असफल हुने त हैन भन्ने गम्भीर आशंका उत्पन्न भएको स्मरणपत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासँघ बेलायत शाखा तथा यस अभियानमा संलग्न नागरिक समुदायको तर्फबाट शाखाका अध्यक्ष चिरन शर्माले कार्यवहाक राजदुत तेजबहादुर क्षेत्रीलाई स्मरणपत्र हस्तान्तरण गरेका थिए । पत्र बुझ्दै कार्यबहाक राजदुत क्षेत्रीले जतिसक्दो चांडो संविधानसभाका अध्यक्षलाई पत्र पठाउने आश्वासन दिए । सो अवसरमा दुतावसका मिलिटरी एट्याची प्रदिज जंग केसी, तृतिय सचिव सुर्य बहादुर थापा, हरी बहादुर हड्कले, हरी बहादुर थापा, पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष शर्मा, उपाध्यक्ष अधिकारी, सदस्यहरु राजकुमार थापा, उमेश निरौला, जीवन गाउंले लगायत सहभागि थिए । स्मरणपत्र शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले पढेर सुनाएका थिए ।

स्मरणपत्रको पूर्णपाठ

सम्माननीय अध्यक्षज्यू,
संविधान सभा
सिंहदरवार, काठमाडौं
विषय: स्मरणपत्र ।
सम्माननीय अध्यक्षज्यू,
नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ अहिले पत्रकारको पेशागत तथा भौतिक सुरक्षा र समग्र पत्रकारिताको व्यावसायिक विकाससँगै संविधान निर्माणको तीन महिने विशेष अभियानमा छ ।
सम्माननीय अध्यक्षज्यू,
२०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको एउटा प्रमुख पक्षसमेत रहेको नेपाली प्रेस जगत र त्यसको अगुवाइ गर्ने नेपाल पत्रकार महासंघ परिवर्तनका एजेण्डालाई संस्थागत गर्ने प्रमुख दस्तावेज संविधान निर्माणमा संविधानसभाबाट भैरहेको पहलको स्वागत गर्दछ । तर, पछिल्ला दिनमा दलहरूबीच बढ्दै गएको असहमति र धु्रवीकरणले संविधानसभा कतै आफैले बाचा गरेको समयसीमा २०७१ माघ ८ भित्र संविधान दिन फेरि पनि असफल हुने त हैन भन्ने गम्भीर आशंका उत्पन्न भएको छ । महासंघ लोकतान्त्रिक आन्दोलन र संघर्षको उपलब्धीस्वरूप प्राप्त भएका लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता जस्ता महत्वपूर्ण परिवर्तनलाई संस्थागत गर्न पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गरी ‘नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल आह्वानसहित नेपाल पत्रकार महासँघ बेलायत शाखाका सम्पूर्ण पत्रकार र यस अभियानमा संलग्न नागरिक समुदायको तर्फबाट नेपाली दूतावास लण्डन मार्फत यहाँ र संविधानसभाकोे गम्भीर ध्यानाकर्षणका लागि यो स्मरणपत्र प्रस्तुत गरेका छौं । तोकिएको समयसीमा २०७१ माघ ८ भित्रै संविधान जारी गर्न पुनः विशेष आग्रह गर्दछौं ।
चिरन शर्मा
अध्यक्ष, नेपाल पत्रकार महासंघ यूके