कलाकार पत्रकार भेटघाट

लण्डन । हाँस्यकलाकार सीताराम कट्टेल धुर्मुस अब नयाँ गेटअपमा प्रस्तुत हुने भएका छन् । डीएसआइ इन्टरटेन्मेन्टको आयोजनमा बेलायतका विभिन्न शहरमा आयोजना हुने नेपाली साँझ-२०१४ कार्यक्रममा भाग लिन उनी लण्डन आएका हुन् ।
धुर्मुसले बेलायतबासी दर्शकका लागि छुट्टै खुराक ल्याएको बताए । नेपाल पत्रकार महासंघ यूके शाखाले हिजो मंगलबार साँझ लण्डनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने- ‘यसपटक मेरो प्रस्तुति पहिलाभन्दा फरक रहन्छ ।
यो प्रस्तुतिमा जुल्फे भालेकट कपाल बनाएर भाले सोल्टी लिएर आएको छु ।’ सो कार्यक्रममा अर्का हास्यकलाकार सन्तोष पन्तको समेत प्रहसन रहने आयोजकले बताए । सन्तोष दाइसँग काम गर्न पाउनु मेरो लागि अवसर हो, त्यसलाई सक्दो सदुपयोग गर्ने प्रयास गर्छु कट्टेलले भने, ‘पन्तसँग गरिने प्रहसनले इतिहास रच्ने छ ।’
पत्रकार सम्मेलनमा गायक प्रमोद खरेलले बेलायतमा आफ्नो पहिलो कार्यक्रम रहेको बताए । युवा पुस्तामा लोकपि्रय खरेलले नयाँ र पुराना सबै गीत गाएर दर्शकले मनोरञ्जन दिने बताए । गायिका सिन्धु मल्लले तिजको सारी लगाएर दर्शक समक्ष प्रस्तुत हुने भएकी छन् । यसअघि गायकका सबै गीत कार्यक्रममा प्रस्तुत गर्ने तयारी गरिरहेको मल्लले बताइन् ।
बेलायतका चार वटा शहरमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक मध्यका एक सन्तोष गुरुङले बताए । नेपाली साँझ हाँस्य, नृत्य र गायनको एक मिश्रति प्याकेज भएको हुँदा दर्शकले अधिकतम मनोरञ्जन लिने विश्वास गरिएको आयोजक रञ्जिता मल्लले बताइन । इन्द्र गुरुङ्गले पत्रकारका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए ।