सुरक्षाविद् शर्मासंग अन्तरकृया सम्पन्न

लण्डन । बेलायत भ्रमणमा रहेका लेखक, पत्रकार तथा राष्ट्रिय सुरक्षाविद् गेजा शर्मा वाग्लेले नेपालमा तोकिएको समयमा नै नेपालले लोकतान्त्रिक संविधान पाउने आशा व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ युके शाखाले सोमबार आयोजना गरेको अन्र्तक्रियामा वाग्लेले वाहिर जे जस्तो भएपनि संविधान निर्माण र शान्ति प्रकृयामा माओवादी लचक हुंदै आएको दावी गरेका थिए । पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्माको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा वाग्लेले राष्ट्रिय सुरक्षा र गैर आवासीय नेपालीहरुले उठान गरेको नागरिकता निरन्तरताको विषयमा पनि आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका सदस्य कुल आचार्यले देशमा लगानीको वातावरण अझै तयार भइ नसकेको बताउंदै एनआरएनहरुलाई नागरिकता दिन सकरकारले कन्जुस्याईं गर्न नहुने जिकिर गरे । नेप्लिज हर्ट फाउण्डेसनका अध्यक्ष विकल चन्द्र आचार्यले हार्ट फाउण्डेसनका बारेमा जानकारी दिएका थिए । वासु लामिछानेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वाग्ले र हार्ट फाउण्डेसनका अध्यक्ष बिकल आचार्यले फाउण्डेसनको वेवसाइट नेप्लिज हार्ट डट ओआरजी उद्घाटन गरेका थिए ।
जया राईले स्वागत मन्तव्य दिइन भने व्यवसायी कृष्ण भट्टले वेवसाइटका विविध पक्षमा प्रकाश पारे । कार्यक्रममा समाजसेवी चिरनजीबी ढकाल, ध्रुव केसी, एनआरएन आइसीसी सदस्य बिजन भट्ट, राज कुमार त्रिपाठी, बाचसपति रेग्मी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।