पत्रकार महासंघ बेलायत शाखामा शर्मा निर्वाचित

नेपाल पत्रकार महासंघ, बेलायत शाखाको दोश्रो अधिवेशन आइतबार लन्डनमा सम्पन्न भएको छ ।

दोस्रो अधिवेशनले चिरन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नरेश खपाङ्गीमगर, उपाध्यक्ष धर्मराज अधिकारी, महासचिव श्याम लुईंटेल, सचिव लिलामान शेरपुञ्जा र कोषाध्यक्षमा देवी गौतम निर्वाचित भएका छन् । त्यसैगरि, सदस्यमा राजकुमार थापा क्षितिज, नृपेश उप्रेती, धु्रव अर्याल, शिवराम तिवारी, छत्र वनेम, किरण टी. लिम्बू र शिव भण्डारी चुनिए । निर्वाचन समितिका संयोजक सोलिसिटर राजु थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ गराएका थिए ।

घोषणा सभालाई संवोधन गर्दै प्रमुख अतिथि कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले पत्रकारिताको विश्वव्यापी मुल्य मान्यता, सिद्धान्त र आचार संहिता पालना गरी पत्रकारहरुलाई मर्यादित भएर पेशामा लाग्न सुझाव दिए । नयाँ कार्यसमितिलाई बधाई एवं शुभकामना दिंदै क्षेत्रीले पत्रकारहरुको सहयोगका लागि दूतावास सधैं कटिवद्ध रहेको समेत जनाए ।

शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगरले सञ्चालन गरेको उक्त सभामा विशिष्ठ अतिथी गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले शुभकामना मन्तव्य दिंदै मिडियाले एनआरएनए अभियानमा गहन भूमिका निर्वाह गरेको उल्लेख गरे । घलेले संस्थाको पत्रकार कल्याण कोषलाई प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्दै शाखाको नयाँ वेवसाइट समेत सार्वजनिक गरेका थिए । त्यसैगरी, नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनिधि बीबीसी नेपाली सेवा आवद्ध वरिष्ठ पत्रकार भगिरथ योगीले बेलायतमा क्रियाशील नेपाली पत्रकारहरुको संख्या वृद्धिलाई उत्साहजनक बताउँदै सबैलाई जिम्मेवार पत्रकारिता गर्न सुझाए । नवनिर्वाचित महासचिव श्याम लुईंटेलले स्वागत मन्तव्य दिंदै बेलायतस्थित नेपाली समुदायसँग मित्रवत व्यवहार गरी संस्था अघि बढ्ने जनाए भने अध्यक्ष चिरन शर्माले आफूहरु पत्रकार हकहितबारे क्रियाशिल रहने बताए ।

घोषणा सभामा प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन बहादुर क्षेत्री, इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स एशोसिएसनका अध्यक्ष अर्जुन प्रसाद मैनाली, नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष लोक गुरुङ, प्रगतिशील नेपाली समाज बेलायतका अध्यक्ष सुरेश गौतम, नेपलिज सेफ एशोसिएसन यूकेका अध्यक्ष एवं एनआरएनए यूकेका उपाध्यक्ष कृष्ण तिमल्सेना, आदिवासी जनजाती महासंघ, बेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बु, संघीय समाजवादी पार्टी यूकेका उपाध्यक्ष चित्रबहादुर गुरुङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए । सोही अवसरमा इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स एशोसिएसनका अध्यक्ष अर्जुन प्रसाद मैनालीले एभरेष्ट गौतमको अध्यक्षतामा गठित संस्थाको बेलायत शाखा आवद्ध पदाधिकारीहरुलाई सम्मान र शुभकामना दिएका थिए ।

यसअघि नेपाल पत्रकार महासंघबाटतोकिएका केन्द्रीय प्रतिनिधि भगिरथ योगीको प्रमुख आतिथ्यता र शाखाका अध्यक्ष नवीन पोखरेलको सभापतित्वमा बन्द सत्र भएको थियो । बन्द सत्रले महासचिव नरेश खपाङ्गीमगरको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लिलामान शेरपुञ्जाको आर्थिक प्रतिवेदन र विधान संशोधन सर्वसम्मत पारित गरेको छ । संशोधित विधानअनुसार, १३ सदस्यीय कार्यसमिति अब १५ सदस्यीय हुनेछ । थपिएका पदमा सह कोषाध्यक्ष र एक सदस्य छन् । सांगठनिक प्रतिवेदनमा बेलायतमा नेपाली पत्रकारिताको अवस्था, चुनौति र नेपाली समुदायको अपेक्षा आदिबारे गहन विश्लेषण छ ।

उपाध्यक्ष दिनेश परियारले सञ्चालन गरेको बन्द सत्रमा अध्यक्ष पोखरेलले आफ्नो दुई वर्षे कार्यकाल सफल बनाउन सघाउने सबैप्रति आभार व्यक्त गरेका थिए ।

त्यस्तै शाखाका सचिव धर्मराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै बेलायतको व्यस्तताबीच पनि टाढा टाढाबाट सहभागिता जनाउने सबैलाई धन्यवाद दिए ।

सोही सांझ बसेको शाखाको पहिलो बैठकले सल्लाहकार नियुक्त गर्दै संशोधित विधान अनुरुप एकजना सहकोषाध्यक्ष नियुक्त गरेको छ । बैठकले निवर्तमान अध्यक्ष नवीन पोखरेल र बीबीसी नेपाली सेवाका पत्रकार भगिरथ योगीलाई सल्लाहकार एवं पत्रकार देवेन्द्र खेरेस राईलाई सहकोषाध्यक्ष चयन गर्ने निर्णय गरेको हो। रिक्त महिला सदस्य पद भने आगामी बैठकले निर्णय गर्ने बताइएको छ ।
-Ekantipur