बार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

नेपाल पत्रकार महासंघ युके शाखाको दोस्रो अधिवेशन आगामी मार्च ९ तारिखका दिन लण्डनमा हुने भएको छ । शाखाको शनिबार लण्डनमा सम्पन्न साधारणसभाले सो निर्णय गरेको हो ।

शाखाका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सम्पन्न सो साधारणसभाले अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष चिरन शर्माको अध्यक्षतामा तयारी उपसमिति, महासचिव नरेश खपाङ्गीमगरको संयोजकत्वमा उपाध्यक्ष दिनेश परियार र सदस्य उमेश निरौला सदस्य रहेको विधान संशोधन उपसमिति, सचिव धर्मराज अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कोषाध्यक्ष लिलामान शेरपुञ्जाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । त्यसैगरी, सोलिसिटर राजु थापाको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ ।

यस्तै, शाखाका पुराना सदस्यहरुलाई सदस्यता नविकरण गर्न र नया सदस्यहरुलाई सदस्यता आवेदन गर्नका लागि आगामी जनवरी १५ सम्म अन्तिम म्याद तोक्ने निर्णय पनि साधारण सभाले गरेको छ ।

साधारणसभामा शाखाको मुखपत्र प्रवासी पत्रकारिताको शाखा अध्यक्ष पोखरेलले विमोचन गरेका थिए । त्यसैगरी महासचिव नरेश खपाङ्गीमगरले सांगठानिक र कोषाध्यक्ष लिलामान शेरपुञ्जाले आर्थिक प्रतिवेदन पेश गरे ।

कार्यक्रममा शुभकामना दिदैं युरोपको नेपालीपत्र साप्ताहिकका प्रबन्ध निर्देशक राजन काडेलले प्रकाशक र पत्रकारबीचको सहकार्यले समाजले धेरै कुरा प्राप्त गर्नसक्ने बताए । समाजले राम्रो कुरा सिक्नमा पत्रकारको भूमिका अहम् रहेको उल्लेख गर्दै उनले पत्रकार महासंघ युकेलाई जस्तोसुकै सहयोग गर्न आफू तत्पर रहेको प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

अर्का अतिथि सोलिसिटर राजु थापाले लगनशील भएर आफ्नो व्यवसायमा लागेकोमा पत्रकारहरुलाई बधाई दिदैं धाकधम्कीबाट अविचलित रही निष्पक्ष समाचार संकलन गर्न पत्रकारहरुलाई आग्रह गरे ।

शाखाका उपाध्यक्ष दिनेशकुमार परियारले संचालन गरेको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चिरन शर्माले स्वागत मन्तव्य र सदस्य उमेश निरौलाले धन्यवाद ज्ञापन गरेका थिए ।