मृगौला पीडित पाल्पालीलाई बेलायतबाट सहयोग

दुवै मृगौला काम गर्न छाडेपछि भारतको मेदान्त अस्पतालमा उपचार गराई रहेका साहित्यकार एवम् पत्रकार बिके पाल्पालीलाई बेलायतबाट प्राप्त सहयोग बिहीबार हस्तान्तरण गरियो । बिके पाल्पाली बचाउ अभियानका संयोजक राधेश्याम लेकालीलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाबाट प्राप्त २५ हजार रुपैयाँ शाखाका वरिष्ठ उपाध्यक्ष चिरन शर्माले हस्तान्तरण गरे । पाल्पालीको उपचारमा झण्डै १५ लाख रुपैयाँ लाग्ने बताइएको छ । नेपाल पत्रकार महासंघले पाल्पालीलाई सहयोग आह्वान गरेको थियो । महासंघको विभिन्न शाखाबाट प्राप्त रकम पाल्पाली सहयोग कोषमा जम्मा हुन थालेको संयोजक लेकालीले बताए । रकम प्राप्त भएपछि बेलायतवासी नेपालीलाई संयोजक लेकालीले धन्यवाद दिए । आगामी दिनमा पनि सहयोग प्राप्त हुने अपेक्षा गरे । पत्रकारलाई अप्ठ्यारो परेका बेला पटक पटक सहयोग गरेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष शर्माले भने, ‘आगामी दिनमा पनि सहयोग जारी रहनेछ ।’ नेपाल पत्रकार महासंघ बेलायत शाखाले यसअघि पनि विभिन्न व्यक्तिलाई सहयोग रकम उपलब्ध गराउँदै आएको छ ।