पत्रकारका लागि पाँच लाखको अक्षयकोष

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले केन्द्रसंग सहकार्य गर्ने गरी पाँच लाख रुपैयाँको पत्रकार अक्षयकोष स्थापना गरेको छ । डायष्पोरा र नेपालमा कार्यरत एक/एक जना पत्रकारलाई सहयोग गर्ने परिकल्पना अनुरुप अक्षयकोष स्थापना भएको संघका संयोजक रामशरण सिंखडाले पत्रकारहरुको सम्मान गर्न आयोजित एक कार्यक्रममा जानकारी दिए ।

अक्षयकोष सञ्चालनका लागि औपचारिकता दिन नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउंले र संघले सहमतिमा हस्ताक्षर गर्ने बताइएको छ । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउंले एवं नेपाल पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई एनआरएनए युकेका अध्यक्ष कुल आचार्यले खादा लगाई सम्मान गरेका थिए ।

एनआरएनए युके अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गाउंलेले नेपालमा पत्रकारिता अत्यन्त जटिल बन्दै गएको बताए । उनले पत्रकारहरुले समाचार छापेकै आधारमा धम्की, जीउधनको असुरक्षा लगायत शारिरीक एवं मानसिक पीडा झेल्नुपर्ने वाध्यता रहेको औंल्याए । नवनिर्वाचित युके शाखाका अध्यक्ष नवीन पोखरेलले एनआरएनए अभियानमा बेलायतस्थित पत्रकारहरुको सहकार्य हुने आश्वासन दिए ।

यसैबीच, संघले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता दोहोर्याएको छ । पत्रकार, कलेज संचालक, विद्यार्थी, कानुनविद् एवं समाजसेवीहरुको उपस्थितिमा एनआरएनले विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।