नेपाल पत्रकार महासंघको बेलायत शाखा गठन

 

लण्डन- नेपाल पत्रकार महासंघ, बेलायत शाखा गठन भएको छ। महासंघको जनकपुरमा सम्पन्न बैठकले शाखा खोल्न स्वीकृति दिएसँगै युरोपको नेपालीपत्रका सम्पादक नवीन पोखरेलको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो।

समितिमा चिरन शर्मा, हरि गुरुङ, प्रवीन गुरुङ, नरेश खपांगी, मिलन ज्ञवाली, नारायण भण्डारी, नारायण गाउँले, श्याम लुईंटेल, सुशील सिंह, होम परिवाग, रमा लामिछाने, देवी गौतम, इश्वर रिजाल, दिनेश परियारलगायत छन।

यसअघि, १८ जुलाई २०१० मा बेलायतमा रहेका नेपाली पत्रकारहरुको भेलाले बेलायतमा नेपाली सञ्चारकर्मीको समन्वयात्मक भूमिकाका लागि संस्थागतरुपमा अगाडि बढ्ने निर्णय गरेको थियो। उक्त भेलाले नेपाल पत्रकार महासंघ बेलायत शाखा स्थापना गर्ने निर्णय गर्दै सम्बन्धनका लागि महासंघमा उल्लेखित नामसहित निवेदन दिएको थियो। समितिले नेपाल पत्रकार महासंघको विधान बमोजिम एक वर्षभित्र अधिवेशन गराउन पर्ने वैधानिक ब्यवस्था छ।

संयोजक पोखरेलले अब बेलायतमा रहेका सबै पत्रकारहरुसँग समन्वय गरी अगाडि बढिने बताए। बेलायतमा हाल चार साप्ताहिक, सगरमाथा टाइम्स पाक्षिक, एउटा नेपाली टेलिभिजन र नेपाल बृटेन डट कम, नेपालीसमाज युकेडटकम, जनचौतारी डटकमलगायत अनलाइन मिडिया सञ्चालनमा छन्।

समितिको बैठक जुलाई १० तारिक आइतबार लण्डनमा बस्ने भएको छ।