नेपाल पत्रकार महासंघ युकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ ।
महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालिन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिएको हो ।
शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले सो राशीमध्ये २० लाख रुपियाँ कल्याण कोषमा जम्मा गर्नका लागि र बाँकी रकम कोरोना प्रभावित नेपाली पत्रकारहरुलाई तत्काल प्रदान गर्नका लागि केन्द्रलाई अनुरोध गरिएको जानकारी दिए ।
संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सो कोषको अवधारणामा युके शाखाको उल्लेखनीय भूमिका रहेको बताउँदै सहयोगका लागि धन्यवाद दिएका छन् ।
कोरोना महामारी जस्ता समस्याबाट विश्वभर रहेका नेपाली पत्रकारहरुलाई अहिले परिरहेको र भविष्यमा पर्नसक्ने प्रभावबाट राहत दिन १ करोड रुपियाँका अक्षयकोष बनाउने उद्देश्यले महासंघले सो कोष स्थापना गरेको हो ।
सो कोषमा हालसम्म करिब ७० लाख रुपियाँ जम्मा भइसकेको बताइएको छ ।